newskoseli.Com

जसपाभित्रको ‘समझदारी’ : यस्ताे छ अबकाे सम्भावना

सरकारमा सहभागी नभई प्रतिपक्षमा बस्ने जनता समाजवादी पार्टी (जसपा) को आन्तरिक ‘समझदारी’ का कारण प्रधानमन्त्री खड्ग ओलीले फेरि पनि विश्वासको मत पाउन नसक्ने र त्यसपछि मुलुक मध्यावधि निर्वाचनतिरै जाने सम्भावना बढेको छ ।

प्रतिनिधिसभाबाट विश्वासको मत लिन प्रधानमन्त्री ओलीले पूर्वराजपा धारलाई सरकारमा सहभागी गराउने प्रयत्न गरिरहेका बेला जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्तिमार्फत प्रतिपक्षमा बस्ने जनाए । जसपाको यो ‘समझदारी’ ले बहुमतको समर्थन लिएर आफ्नै सरकारलाई निरन्तरता दिन खोजेका प्रधानमन्त्री ओलीलाई झट्का लागेको छ ।

जसपाभित्रको यो ‘समझदारी’ का कारण जेठ १५ भित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यताअनुसार अघि बढ्न समेत प्रधानमन्त्री ओलीलाई चुनौती खडा गरेको छ । जसपामा ठाकुर र यादवबीच ओली नेतृत्वको सरकारमा सहभागी नहुने र आफ्नै पार्टीको नेतृत्व बाहेकको वैकल्पिक सरकारको पक्षमा पनि नलाग्ने समझदारी बनेको छ ।

प्रधानमन्त्री ओलीको पक्षमा लाग्ने कि वैकल्पिक सरकार बनाउने भन्नेमा ठाकुर र यादव पक्षबीच चर्केको शक्ति–संघर्षले पार्टी नै विभाजनको संघारमा पुगेको थियो । दुई दिनको अनौपचारिक संवादपछि जसपामा बनेको यो ‘समझदारी’ ले पार्टी एकता कायम राख्नुका साथै राष्ट्रिय राजनीतिलाई समेत तरंगित बनाएको छ । प्रतिनिधिसभामा अहिलेको अंकगणितले जसपाको सिंगो समर्थन जतातिर हुन्छ, मुलुकको राजनीतिक परिदृश्य त्यतैतिर ढल्कने स्थिति छ । ठाकुर र यादवबीचको समझदारीले भने ओली नेतृत्वको सरकारले निरन्तरता नपाउने र मुलुक मध्यावधि निर्वाचनतिरै धकेलिने सन्देश दिएको छ ।

विपक्षी गठबन्धनले सरकारको विकल्प दिन नसकेपछि संविधानको धारा ७६ (३) को व्यवस्थाअनुसार गत बिहीबार ओली नै फेरि प्रधानमन्त्री नियुक्त भएका छन् । नियुक्त भएको ३० दिनभित्र ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत लिन सकेनन् भने संविधानको धारा ७६ (५) अनुसार सरकार बनाउने बाटो खुल्छ, जसमा प्रतिनिधिसभाका कुनै पनि सदस्यले बहुमत देखाउन सक्ने आधार प्रस्तुत गरे त्यस्तो सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्नुपर्ने व्यवस्था छ । धारा ७६ (५) अन्तर्गत प्रधानमन्त्री नियुक्ति हुन नसके वा नियुक्त भएर ३० दिनभित्र विश्वासको मत लिन नसके प्रतिनिधिसभा स्वतः विघटन हुने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा ७६ (२) को विकल्प समाप्त भइसकेकाले अब मुलुक मध्यावधि निर्वाचनतिरै जान सक्ने जसपा अध्यक्ष यादवले बताए । ‘एउटा सम्भावना संविधानको धारा ७६ (५) मा पुगेपछि रहन्छ । त्यतिबेला हाम्रो प्रयास आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनेतिर हुन्छ । त्यो सफल हुन सकेन भने निर्वाचनतिरै जान्छ,’ उनले भने– ‘त्यतिबेला निर्वाचनमा जाँदा हामीलाई आपत्ति छैन ।’

यादवको भनाइअनुसार संविधानको धारा ७६ (५) अनुसार विकल्पको सरकार बन्न नसके ओलीकै नेतृत्वमा निर्वाचनमा जान पनि जसपा तयार भएको खबर बुधबारको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर