newskoseli.Com

के गर्दैछन् माधव नेपाल ? देउवा, प्रचण्ड, नेपाल र यादव छलफलमा

प्रधानमन्त्री एवं एमाले अध्यक्ष खड्ग ओलीको फेरि अर्को बदनियतपूर्ण र असंवैधानिक हर्कतलार् समेत राष्ट्रपति विद्या भण्डारीले आँखा चिम्लिएर साथ दिएपछि बिहीबार साँझदेखि एकाएक मुलुकको राजनीतिक माहोल तरंगित भएको छ । दल र नेताहरूको तीव्र दौडधुप, छलफल र रस्साकस्सी चलिरहेको छ ।

विद्या–ओलीको पछिल्लो हर्कतसँगै विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरूको चर्को दौडधुप चलिरहेका बेला अध्यक्ष एवं प्रधानमन्त्री ओलीका सबैजसो हर्कतप्रति असहमति जाहेर गर्दै विभाजनको सन्निकट पुगेको स्वयं एमालेकै वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहचाहिँ के गर्दै छ त ? सर्वत्र जिज्ञासा छाएको छ ।

शुक्रबार बिहानै कांग्रेस पदाधिकारी बैठकले नयाँ सरकार गठनका विकल्पबारे सबै पक्षसँग छलफल गर्ने निर्णय गरेलगत्तै विभिन्न दलका नेताहरु बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवास पुगेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेलगत्तै एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल पनि छलफलका लागि त्यहीं पुगेका छन् ।

कांग्रेसका एक नेताले जनाएअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव पनि छलफलका लागि देउवानिवास बुढानीलकण्ठ पुगिसकेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार सरकार बनाउनका लागि बहुमत सिद्ध गर्न राष्ट्रपतिले दिएको समय शुक्रबार साँझ नै सकिँदैछ । यस्तो सरकारको गठन र नेतृत्वका सम्भावनाबारे बैठकमा छलफल हुने कांग्रेस ती नेताले बताए ।

अपडेटः

देउवा निवासमा छलफल गरेलगत्तै खनाल–नेपाल पक्षका करिव दुई दर्जन सांसद सिंहदरबारमा भेला भएर छलफलमा जुटेका छन् । वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायतका सांसदहरु सिंहदरबार पुगेका छन् ।

खनाल–नेपाल पक्षका २० जनाभन्दा बढी सांसदहरुले ओलीको सट्टामा वैकल्पिक सरकारका पक्षमा हस्ताक्षर गरिदिएर या सामूहिक राजीनामा दिएर वैकल्पिक सरकार गठनका लागि मार्गप्रशस्त गरिदिनेबारे छलफल भइरहेको बुझिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर