राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार अकस्मात आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठनको दावी गर्न बहुमत सांसदको हस्ताक्षर बोकेर कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित विपक्षी गठबन्धनका नेताहरु शीतलनिवास पुगेका छन् ।
विपक्षी गठबन्धनका तर्फबाट प्रधानमन्त्रीमा प्रस्तावित कांग्रेस सभापति देउवासहित माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल पक्षका नेताहरु राष्ट्रपतिले तोकेकै अवधिभित्र दावी पेस गर्न राष्ट्रपति कार्यालय शीतलनिवास गएका हुन् । राष्ट्रपतिको आह्वानअनुसार सरकार गठनका लागि विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षर जुटाइसकेको बताइएको छ ।
सरकार गठनको दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि कांग्रेस संसदीय दलको कार्यालयमा उक्त संख्यामा हस्ताक्षर जुटाइएको माओवादी केन्द्रसम्बद्ध स्रोतको भनाइ छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष र जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षका सांसदहरुले ओलीको विकल्पमा नयाँ प्रधानमन्त्रीका पक्षमा हस्ताक्षर गरेका छन् ।