नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘तपाईं’ नभनेर ‘तिमी’ शब्द प्रयोग गरेको भन्दै कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले ‘आपत्ति’ जनाएका छन् ।
कांग्रेस सभापति देउवाले शनिबार जारी गरेको वक्तव्यको भाषाप्रति असन्तुष्टि जनाएर ‘राष्ट्रपतिलाई तपाईं समेत भन्ने सभ्यता नेपाली कांग्रेसमा रहेनछ’ भन्दै ओलीले कटाक्ष गरेका हुन् । बुद्धिबहादुर रायमाझीद्वारा लिखित ‘१६ वर्षे जेल जीवन’ पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै राष्ट्रपतिका सम्बन्धमा देउवाको विज्ञप्तिमा प्रयुक्त भाषामा ‘तिमी, गरिन्’ भन्ने रहेको भन्दै ओलीले असन्तुष्टि पोखेका हुन् ।
‘तपाईँ पनि भन्नु हुँदैन राष्ट्रपतिलाई भन्ने ठान्छन्, असभ्य तरिकाले बोल्ने तिनै आफूलाई महान् ठान्छन्,’ ओलीले भने– ‘नेपाली कांग्रेसका सभापतिको त्यस स्तरको भाषा देखेपछि गणतन्त्रलाई खुइल्याउने अभियान कहाँसम्म पुगेको रहेछ भन्ने अचम्म लाग्यो ।’