newskoseli.Com

ओली समूहको ‘स्थायी कमिटी’ बस्दै : खनाल–नेपाल पक्षलाई पार्टीबाटै हटाइँदै !

नेकपा एमालेको ओली समूहले सोमबार अपराह्न उक्त समूहको स्थायी कमिटीको बैठक राखेको छ । पछिल्लो महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटी र विभागहरू समेत खारेज गरेर आफ्नो समूहको मात्र बेग्लै स्थायी कमिटी र विभागहरू बनाएको ओली समूहले यसै समूहका बैठक र गतिविधिहरूलाई नै ‘एमालेको बैठक’ र ‘पार्टीका क्रियाकलाप’ दावी गर्ने गरेको छ ।

वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य, भीम रावल र भीम आचार्य, उपमहासचिव घनश्याम भुसाल, सचिवद्वय योगेश भट्टराई र गोकर्ण विष्टलगायतलाई ‘महाधिवेशन आयोजक समितिका सदस्य’ मात्र भन्दै आएको छ । सोमबार बस्ने ओली समूहको स्थायी कमिटीको बैठकले इतर पक्षका केही नेतालाई पार्टीबाटै ‘निष्काशन’ गर्ने तयारी गरेको ओली समूहका एक नेताले न्युजकोसेलीलाई बताए ।

संविधान र लोकतान्त्रिक मान्यताविपरीत गएर राष्ट्रपति विद्या भण्डारी समेतलाई दुरुपयोग गर्दै बिहीबार ओलीले आफैंलाई संविधानको धारा ७६ को उपधारा ५ अनुरुपको प्रधानमन्त्री घोषणा गर्ने काम थालेपछि आन्तरिक विवाद समाधान गरेर पार्टी एकता कायम राख्न पहल गरिरहेको खनाल–नेपाल पक्ष एमालेबाट अलग्गिँदै नयाँ पार्टी गठनको निष्कर्षमा पुगेको छ । अझ शुक्रबारका ओलीका क्रियाकलाप र राष्ट्रपति भण्डारीका बदमासीपछि त खनाल–नेपाल पक्ष बेग्लै राजनीतिमा लागिसकेको छ । वैधानिक रुपले पार्टी विभाजन गर्न केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर कम्तिमा ४० प्रतिशत हुनुपर्नेमा प्रतिनिधिसभा ‘विघटन’ भइसकेको वर्तमान सन्दर्भमा केन्द्रीय कमिटीकै मात्र ४० प्रतिशत हुँदा पुग्ने भएकाले खनाल–नेपाल पक्ष विधिवतरुपबाटै विभाजनको तयारीमा लागेको सो पक्षका एक नेताले बताए ।

ओलीले ‘जसरी पनि निकालिछाड्ने’ र खनाल–नेपाल पक्ष ‘अब मिल्न नसकिने’ निष्कर्षमा पुगिसकेकोले अब ओली समूहले इतर पक्षमाथि गर्ने कुनै पनि ‘कारबाही’ को केही अर्थ नरहने भएको छ । यसैकारण शनिबार ओली पक्षले खनाल–नेपालसहित सो पक्षका ११ नेतासँग सोधेको ‘स्पष्टीकरण’ को जवाफ पनि ती नेताहरुले दिएका छैनन् । ओलीले सोधेको ‘स्पष्टीकरण’ को जवाफ दिइरहने कुनै आवश्यकता नभएको भन्दै ‘एमाले पार्टी ओलीको प्राइभेट कम्पनी नभएको’ प्रतिक्रिया उपाध्यक्ष रावलले दिइसकेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर