कामचलाउ प्रधानमन्त्री खड्ग ओलीले पछिल्लो मन्त्रिमण्डल विस्तारका क्रममा मन्त्रीपरिषदबाट हटाइदिएका ओली समूहका अधिकांश नेताहरु वरिष्ठ नेता माधवकुमार नेपालकहाँ धाउन थालेका छन् । ‘अब जसरी पनि पार्टी एकता जोगाउनुपर्छ र तपाईंले नै नेतृत्व लिनुपर्छ’ भन्दै उनीहरु वरिष्ठ नेता नेपालको निवासमा धाउन थालेका हुन् ।
‘क्याबिनेटमा बसेर काम गर्ने सिलसिलामा ओलीको कार्यशैलीका कारण पार्टी र सरकार दुवैतिर उँभो नलागिने राम्रैसित बुझियो’ भन्दै ती नेताहरूले बारम्बार वरिष्ठ नेता नेपाललाई भेट्दै पार्टीको नेतृत्व गरिदिन ‘आग्रह’ गर्न थालेका हुन् । ‘ओलीको कार्यशैलीले देशलाई डुबाउने भयो’ भन्दै उनीहरुले नेपाललाई उक्साउन थालेका छन् ।
आफूहरू पहिले ओलीकै मन्त्रिपरिषदमा रहेकाले बाहिर बोल्न नमिलेको तर ओलीका गतिविधिबाट आजित भइसकेको गुनासो उनीहरूले वरिष्ठ नेता नेपालसामु पोख्ने गरेका छन् ।