विगतदेखि पटक–पटक अस्वाभाविक, अव्यावहारिक, अमर्यादित र लोकतान्त्रिक एवं गणतान्त्रिक मूल्य–व्यवहार विरूद्धका व्यवहार गर्दै र संविधान तथा कानुनको उल्लंघन गर्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार फेरि अर्को ‘ब्लन्डर’ गरेकी छन् ।
विगतदेखिको स्थापित प्रचलनअनुसार नवनियुक्त महान्याधिवक्ता खम्मबहादुर खातीलाई राष्ट्रपतिभवन, शीतलनिवासमा सपथ खुवाउन नदिएर राष्ट्रपति भण्डारीले पछिल्लो ‘ब्लन्डर’ गरेकी हुन् । यसअघिको प्रचलनविपरीत राष्ट्रपति भण्डारीले नवनियुक्त महान्यायाधीवक्ता खम्मबहादुर खातीको सपथग्रहण समारोह शीतलनिवासमा आयोजना गर्न अस्वीकार गरेकी छन् ।
राष्ट्रपति भण्डारीको अस्वीकारसँगै खातीले सर्वोच्च अदालतमा सपथग्रहण गरे । महान्यायाधीवक्तालाई प्रधानन्यायाधीशले सपथ खुवाउने संवैधानिक व्यवस्था छ । राष्ट्रपति उपस्थित भएरै राष्ट्रपति कार्यालयमा प्रधानन्यायाधीशले सपथ खुवाउने विगतदेखिको प्रचलन शुक्रबार तोडिएको हो । तर, राष्ट्रपति कार्यालयले भने महान्यायाधिवक्तालाई प्रधानन्यायाधीशले सपथग्रहण गराउने भएकाले उतै परिपत्र गरिएको जानकारी खातीलाई दिएको थियो ।
यसअघिका सरकारका पालामा नियुक्त दुई महान्यायाधिवक्ता अग्नि खरेल र रमेश बडाललाई भने राष्ट्रपतिको उपस्थितिमै प्रधानन्यायाधीशले राष्ट्रपति कार्यालयमा नै शपथ खुवाएका थिए । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्दाको भाषालाई लिएर असार २९ मा राष्ट्रपति र प्रधानमन्त्रीबीच असमझदारी उत्पन्न भएको थियो । सोही कारण देउवाको सपथ समारोह अढाइ घन्टा ढिलो भएको थियो । राष्ट्रपतिको पछिल्लो भूमिकालाई लिएर प्रधानमन्त्रीमा देउवाको आगमनलाई भण्डारीले धेरै नै नरुचाएको अर्थमा विश्लेषण भइरहेको छ ।