सत्ता गठबन्धनका शीर्ष नेताहरू पहिले न्यूनतम साझा कार्यक्रम जारी गरेर त्यसपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा लागेका छन् । संयुक्त कार्यदलले न्यूनतम साझा कार्यक्रम बनाउने काम गरिरहेको छ । ठीक यही समयमा शीर्ष नेताहरू भने मन्त्री छान्ने गृहकार्यमा व्यस्त छन् ।
आफैंलाई मन्त्री बनाउन दबाब दिने वा मन्त्री बन्न खोज्ने सांसदहरूको अधिक संख्याका कारण आफूलाई सकस परिरहेको अभिव्यक्ति दिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई उनकै सांसदले मन्त्री छान्ने क्राइटेरिया ‘सिकाइदिएका’ छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै माओवादी सांसद गजेन्द्र महतले अध्यक्ष प्रचण्डको नाम नलिइकनै उनलाई ‘मन्त्री चयन गर्ने क्राइटेरिया’ सिकाएका हुन् ।
‘मन्त्री छान्न सकस भयो भन्ने नेताहरूको भनाइ सुनिन्छ, मन्त्री चुन्न लाइसेन्स जारी गरौं,’ सांसद महतले भने– ‘मन्त्रीको लाइसेन्स जारी गर्दा मन्त्री बन्न आवश्यक पर्ने सर्तहरू त्यसैमा राखौं ।’
‘स्थायी कमिटीको सदस्य हुनैपर्ने, टन्न पैसा भएको हुनुपर्ने, योभन्दा अगाडि कम्तिमा २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने वा त्यसमा सिपालु हुनुपर्ने,’ कस्ता व्यक्तिलाई बनाउने भन्नेबारे लाइसेन्समा उल्लेख गर्नुपर्ने सर्त भन्दै व्यंग्यात्मक ढंगबाट सांसद् महतले भने– ‘पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक दिन सक्ने पनि राखौं, यसो गर्दा सजिलो होला । गुटमा आबद्ध भएकै हुनुपर्ने, भरसक पति, पति नभए पत्नी– यो पनि राखौं ।’
‘नेतृत्वको वरिपरि घुमीघुमी खुसी बनाउने खुबी भएको, भ्रष्टाचार र कमिसनका सबै दुलाहरू थाहा पाएको वा त्यो क्षमता भएको माननीयलाई मन्त्री बनाउने सर्त राखौं, यो सदनमा आइराख्नु नपर्ने, यसो झल्याकझुलुक गरे हुने प्रावधान पनि राखौं,’ मन्त्रीको लाइसेन्समा राख्नुपर्ने सर्तबारे उल्लेख गरिसकेपछि महतले भने– ‘यत्ति गरिसकेपछि त हाम्रो नेतालाई पनि निकै सजिलो होला ।’