पहिलो र दोस्रो लहरपछि केही समय क्रमशः घट्रदै र नियन्त्रणउन्मूख देखिँदै गएको कोरोनाभाइरस महामारीले फेरि विकराल रूप लिने देखिएको छ । पछिल्ला केही दिनमा राजधानी उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या लगातार बढ्दै गएको छ र बुधबार मात्रै थप संक्रमितको संख्या ४ हजार १ सय ७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा थप ४ हजार १ सय सात जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ११ हजार ३ सय ५४ जनाको परीक्षण गर्दा २ हजार ९ सय ७५ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट ४ हजार ९ सय ४४ जनाको परीक्षण गर्दा १ हजार १ सय ३२ जनामा पुष्टि भएको छ ।
यसरी दुई विधिबाट १६ हजार २ सय ९८ जनाको परीक्षण हुँदा एकैदिन ४ हजार १ सय ७ जनामा संक्रमण पुष्टि हुनुले नेपालमा फेरि कोरोना महामारीको तेस्रो लहर सुरु हुन लागेको आशंका बढेको छ । पछिल्लो २४ घन्टामा ३५ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
यसअघि संक्रमण पुष्टि भएकामध्ये बुधबार १ हजार ५ सय ३५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म करिव ४० लाख जनाको परीक्षण भएकामा ७ लाख ६७ हजार ९ सय २२ जनामा संक्रमण पुष्टि भएको छ । यीमध्ये ६ लाख ६१ हजार ६ सय ५१ जना निको भएका छन् भने ९ हजार ९ सय ५७ जनाको मृत्यु भइसकेको छ ।
मंगलबार मात्रै पनि ३ हजार ३ सय ८३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो । मंगलबार २४ जना संक्रमितको मृत्यु भएकामा बुधबार मृतक संख्या अझै बढेर ३५ पुगेको छ ।