लुम्बिनी प्रदेशमा उहिल्यै अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई पदमै टिकाउन अनेकौं लज्जास्पद, गैरसंवैधानिक र अराजनीतिक हर्कतहरू गरेको एमाले लुम्बिनी संसदीय दलले फेरि अर्को हास्यास्पद हर्कत गरेको छ । एमालेमै नरहेका दुई सांसदलाई ‘कारबाही’ गरेर सांसदबाट हटाइपाऊँ भन्दै एमालेले प्रदेश सभामुखलाई मंगलबार पत्र बुझाएर जगत् हँसाएको हो ।
प्रदेश सरकारका विनाविभागीय मन्त्री अजय शाही र सांसद बिमला खत्री वलीलाई पदमुक्त गर्न एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ । एमालेको लुम्बिनी प्रदेश संसदीय दलका मुख्य सचेतक भूमिश्वर ढकालले ‘एमालेको सूर्य चिह्न लिएर निर्वाचित शाही र वलीले पार्टीको विधान र संसदीय दलको विधानविपरीत र पार्टीको निर्देशनविपरीत गतिविधि गरेको’ उनीहरूलाई पदमुक्त गर्न माग गर्दै प्रदेशसभामा पत्र बुझाएका हुन् ।
‘उहाँहरुले पार्टीको नीति–निर्देशन मान्नु भएन, पार्टीको ह्वीपविपरीत तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारको नीति तथा कार्यक्रम असफल गर्न मतदान गरेको तथा संसदीय दलको निर्देशनविपरीत नवगठित मन्त्रिपरिषदमा सहभागी भएकाले पदमुक्त गर्नका लागि पत्राचार गरेका हौ’– ढकालले भनेका छन् ।
प्रदेशसभा सदस्य अजय शाही २०७४ मा सम्पन्न निर्वाचनमा नवलपरासी– १ (ख) बाट निर्वाचित भएका थिए । उनले ‘सूर्य’ सूर्य चिह्नमा चुनाव लडेर जितेका त हुन् तर उनी एमाले नभई हृदयेश त्रिपाठी समूहका स्वतन्त्र सांसद हुन् । स्वतन्त्र सांसद भएकाले एमालेको ह्वीप आफूलाई नलाग्ने शाहीको दावी नै सत्य हो ।
त्यसैगरी विमला खत्री वली तत्कालीन नेकपाबाट निर्वाचित सांसद् हुन्, नेकपा खारेज भएपछि स्वेच्छिकरुपले एमाले वा माओवादी केन्द्रमध्ये एक रोज्न पाउने भएकाले उनले माओवादी केन्द्र रोजेकी छन् । प्रदेशसभा सदस्य रहेका उनका श्रीमान् उत्तरकुमार वलीको निधनपछि २०७६ मा तत्कालीन नेकपाका तर्फबाट दाङ– ३ (ख) बाट उनले उपनिर्वाचन जितेकी थिइन् ।