नेपाली कांग्रेसका एक कार्यकर्ताले आफ्ना लागि कांग्रेस ‘मरेको’ भन्दै सो पार्टीको ‘किरिया’ गरिदिएका छन् । अमरगढी नगरपालिका– ९, डडेलधुराका नरबहादुर पाल यसअघि दुईपटक कांग्रेसको वडा सभापतिमा निर्वाचित भइसकेका थिए । तेस्रो पटक पनि आफैं वडा सभापति हुनेमा उनी ढुक्क थिए ।
तर, आइतबार सार्वजनिक कांग्रेसको क्रियाशील सदस्यता सूचीमै उनको नाम थिएन । १४ वर्षको कलिलो उमेरदेखि नै सक्रियरूपले कांग्रेसमा काम गर्दै आएका नरबहादुरले आफ्नो क्रियाशील सदस्यता खोसिएको भन्दै सोमबार उक्त पार्टीको ‘किरिया’ नै गरिदिए । कपाल खौरेर ‘किरिया’ थालेका उनले १० दिनसम्मै ‘किरिया’ बस्ने बताए । ‘किरिया नै गरेपछि राम्रैसँग गरौं भन्ने सोच बनाएको छु’– उनले भने ।
‘समाजसेवा गर्नुपर्छ भनेर सानै उमेरदेखि पार्टीमा लागें, विगतदेखि नै कांग्रेसका लागि काम गर्दै आएको मलाई थाहा नै नदिई हटाइयो,’ नरबहादुरले भने– ‘आज आएर एक्कासि यस्तो गरेपछि धेरै नै दुःखित भएको छु, पीडा र दुःख सहन नसकेर कांग्रेसको किरिया गरिदिएको हुँ ।’