newskoseli.Com

टिम नेपाल भारतसँग साफ फाइनल भिड्दै : मुख्य प्रशिक्षक अलमुताइरी निलम्बित

नेपाली टिमले शनिबार (आज) राति पौने ९ बजे मालदिभ्सको राजधानी मालेमा साफ च्याम्पियनसिपको फाइनल प्रतियोगिता भिड्दै छ । नेपालको इतिहासमै पहिलो पटक साफमा फाइनल खेल्ने तयारी गरिरहेको नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई भने खेलको पूर्वसन्ध्यामा आयोजक पक्षले प्रतिबन्ध लगाइदिएको छ ।

यसअघि श्रीलंका र बंगलादेशविरुद्धका चौथो र नवौं खेलमा गरी दुईवटा पहेंलो कार्ड पाएको भन्दै अलमुताइरी फाइनल खेलका लागि निलम्बित भएको दावी गर्दै साफले एन्फालाई पत्र थमाएको हो । साफले आफूमाथि व्यक्तिगत रिसिबी साँध्ने र नेपाली टिमको जित नचाहनेहरूको बदनियतका कारण यसो गरिएको जिकिर अलमुताइरीले गरेका छन् ।

तेह्रौं साफमा पुग्दा पहिलाे पटक फाइनलमा नेपाल

तेह्रौं साफ च्याम्पियनसिप फुटबल उपाधिका लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने फाइनल खेलमा नेपाली टिमका एक महत्त्वपूर्ण सदस्य अन्जन विष्ट भने खेल्ने छैनन् । लगातार दुईवटा खेलमा पहेंलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।

बंगलादेशविरुद्धको खेलमा अञ्जन विष्टले नै बराबरी गोल फर्काएका कारण नेपालले साफ च्याम्पियनसिपको इतिहासमै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो । भारत लिग चरणको विजेताका रुपमा र नेपाल उपविजेताको रुपमा फाइनलमा पुगेका हुन् ।

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको छ । साफमा सर्वाधिक सफल टोली भारतले हालसम्म ७ पटक उपाधि जितिसकेको छ ।

साफ नियमावलीमा यस्तो छ व्यवस्था–

‘मलाई कारबाही गर्नकै लागि नियम परिवर्तन गरियो, यो निष्पक्ष र न्यायपूर्ण देखिएन,’ अलमुताइरीको भनाइ छ– ‘यो मलाई होइन, नेपाली फुटबललाई गरिएको कारबाही हो ।’ साफको नियमावलीअनुसार दुईवटा पहेंलो कार्ड पाएका खेलाडी त्यसपछिको अर्को खेलमा निलम्बित हुने नियम रहेको तर त्यस्तो अवस्थामा प्रशिक्षक भने निलम्बित हुने नियम नरहेको उनको तर्क छ । अफिसियलको हकमा रातो कार्ड खाएको अवस्थामा मात्र यस्तो नियम लागू हुने अलमुताइरीको भनाइ छ ।

तर, यस्तो छ साफले एन्फालाई पठाएको पत्र–

माल्भ्सिविरुद्धको खेलमा भारतीय प्रशिक्षकले रातो कार्ड खाएर फाइनलमा सहभागी हुन नपाउने भएपछि नेपालका प्रशिक्षकलाई पनि बाहिर राख्नका लागि यस्तो षड्यन्त्र गरिएको अलमुताइरीको भनाइ छ । ‘साफलाई सायद नेपालले निकालेको नतिजा मन परेको छैन र यदि म मैदानमा भएँ भने नेपालले उपाधिका लागि अन्तिमसँग लड्छ भनेर नै यसो गरिएको हुन सक्छ,’ अलमुताइरीले प्रश्न गरेका छन्– ‘आफ्नै नियमलाई पालना नगर्ने हो भने त्यस्तो नियम किन राखेको त ?’

अलमुताइरीको निलम्बनप्रति पुनर्विचार गर्न अनुरोध गर्दै नेपालले एएफसीलाई पत्र पठाए तापनि एएफसीले समेत साफकै निर्णयलाई मान्यता दिने बताइसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर