विद्रोही नेकपाका केन्द्रीय नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ को ६१ वर्षको उमेरमा निधन भएको छ । जनयुद्धअघि भएका ग्रामीण वर्गसङ्घर्ष, दसवर्षे जनयुद्ध, पञ्चायती निरङ्कुशता एवं संसदीय फासीवादविरुद्ध साहसका साथ लड्दै आएका वीरजङ्ग नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का सहोदर दाजु हुन् । उनका आमा, श्रीमती र दुई छोरा–बुहारी छन् ।
प्रतिक्रान्तिकारी खड्ग ओलीको शासनकालमा लगाइएको नेकपामाथिको कथित प्रतिबन्धका बेला लामो समय हिरासत र जेल जीवन व्यतीत गरेका वीरजङ्गलाई जेलभित्रै मुटुको रोगले गाँजेको थियो । दुई पटकसम्म उनको मुटुको शल्यक्रिया समेत भएको थियो । कथित प्रतिबन्धका बेला हिरासतभित्रै उनलाई कोरोना सङ्क्रमण समेत भएको थियो । उपचारकै क्रममा भारतको राजधानी दिल्लीस्थित म्याक्स अस्पतालमा बिहीबार राति उनको निधन भएको हो ।
फागुन, २०१७ मा रोल्पाको इरिबाङमा जन्मिएका वीरजङ्गको सम्पूर्ण जीवन नै राजनीतिमै व्यतीत भयो । नेपाली कम्युनिस्ट आन्दोलनमा उनी क्रान्तिकारी र इमानदार छविका व्यक्तित्वका रूपमा सुपरिचित रहे । उनको शव भारतीय अस्पतालबाट शनिबार नेपाल ल्याइने र उनको हालको बसोबासस्थान कपिलवस्तुको शिवगढीस्थित घरमा ल्याइने नेकपासम्बद्ध स्रोतले जनाएको छ ।
नेकपाका महासचिव एवं वीरजङ्गका भाइ विप्लव र अरु सबैजसो केन्द्रीय नेताहरूकाे सहभागितामा नेता–कार्यकर्ता र जनसमुदायबीच शनिबारै श्रद्धाञ्जलीसभा आयोजना गरी नेता वीरजङ्गप्रति श्रद्धासुमन अर्पण गरिने बताइएको छ ।