आफैं सभापतिको उम्मेदवार बन्न लामो समय अघिदेखि तयारी गरिरहेका नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधिले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा प्रस्ताव गरी ‘निर्विरोध सभापति’ बनाउन सभापति शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
रामचन्द्रलाई सभापतिमा देउवाले प्रस्ताव गर्ने हो भने निर्विरोध रुपमा नेतृत्व चयन हुने र कांग्रेसमा एकताको सन्देश प्रवाह हुने उपसभापति निधिको भनाइ छ । ‘जनता र कांग्रेसका शुभेच्छुक साथीहरुको भावना हेर्दा आगामी चुनावका लागि पनि नेपाली कांग्रेसमा एकता भइदियो भने राम्रो हुन्छ भन्ने सबैको चाहना देखिन्छ,’ सञ्चार माध्यमलाई प्रतिक्रिया दिँदै निधिले भनेका छन्– ‘शेरबहादुरजी पाँच पटक प्रधानमन्त्री भइसक्नुभयो, प्रमुख कार्यकारी पद पाइसक्नुभयो, अब उहाँले आफ्नो तर्फबाट रामचन्द्रजीलाई प्रस्ताव गरिदिनुभयो भने निर्विरोध हुने सम्भावना बढी हुन सक्छ ।’
देउवाले रामचन्द्रलाई प्रस्ताव गर्ने हो भने आफूहरुमाथि समेत दबाव पर्ने बताउँदै निधिले भनेका छन्– ‘देउवाजीले यो गर्दिए हुन्थ्यो, उहाँले गर्नुहुन्छ कि गर्नुहुन्न, थाहा छैन ।’