newskoseli.Com

कांग्रेस महाधिवेशन : खुला केन्द्रीय सदस्यमा महिला शून्य !

नेपाली कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत अहिले केन्द्रीय सदस्यहरूको मतगणना भइरहेको छ । आइतबार खुलातर्फमा ३५ जना केन्द्रीय सदस्यको टुंगो लागेको छ । खुला केन्द्रीय सदस्यमा निर्वाचित सबै जना पुरूष छन् ।

खुलामा कांग्रेस केन्द्रीय सदस्य बन्न ९९ जनाले उम्मेदवारी दिएका थिए । खुलामा उम्मेदवारी दिने सबै पुरूष थिए । खुलामा सबै पुरूषले जिते पनि कांग्रेस केन्द्रीय समितिमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित छ । त्यसका लागि विभिन्न क्लस्टरमा महिलाको सहभागिता सुनिश्चित गरिएको छ । खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य हुन्छन् । ९ जनाका लागि ३० जना उम्मेदवार छन् ।

सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा पनि खुला महिलातर्फ उम्मेदवार बनेकी छन् । हरेक प्रदेशमा पनि महिलाको सहभागिता निश्चित गरिएको छ । हरेक प्रदेशबाट १ जना महिलाका दरले सात प्रदेशबाट ७ जना महिला केन्द्रीय समितिमा आउँछन् ।

क्लस्टरअनुसार दलिततर्फ ४, आदिवासीरजनजातितर्फ ७, खसआर्यतर्फ ६, मधेसीतर्फ ४, मुस्लिमतर्फ १, थारूतर्फ २ जना महिला केन्द्रीय सदस्य हुन्छन् । कांग्रेसमा १२१ जना केन्द्रीय सदस्य महाधिवेशनबाट निर्वाचित हुन्छन् । तीमध्ये ४० जना महिला हुन्छन् । अर्थात् ३३ प्रतिशतभन्दा बढी महिला निर्वाचन जितेर कांग्रेस केन्द्रीय समितिमा आउँछन् ।

कांग्रेस विधानले ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था गरेको छ । मनोनित गर्दा पनि समावेशी सिद्धान्तअनुसार गर्नुपर्छ । ३३ जना मनोनित गर्दा कम्तीमा ३३ प्रतिशत महिला हुनैपर्छ ।

कांग्रेसको १३ सदस्यीय पदाधिकारीमा महिलाको सहभागी निकै कम छ । सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ बाहेक अरू सबै पदाधिकारी पुरूष छन् । डिनाले महिलातर्फको सहमहामन्त्री जितेकी हुन् । १४औं महाधिवेशनमा उपसभापतिमा सुजाता कोइरालाले उम्मेदवारी दिए पनि उनी पराजित भएकी छन् ।

यो पनि पढ्नुहोस्–
कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ काे–काे विजयी ? (नामावली र मतसहित)

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर