काठमाडौँ – मौसम खराबीका कारण जहाज अवतरण गर्न नसकेपछि सोमबार चीनबाट ल्याइएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप फिर्ता भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम खराबीले सोमबार बिहान जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता भएको हो । एसियाली विकास बैंकको सहयोगमा चीनबाट भेरोसेल खोप नेपाल ल्याउन लागिएको थियो ।
स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाले विमानस्थलमा जहाज अवतरण गर्न नसकेपछि खोप फिर्ता गए पनि भोलिसम्ममा आइपुग्ने जानकारी दिनुभयो । उहाँका अनुसार त्यहाँबाट १२ लाख एक हजार ८८७ मात्रा खोप आउन लागेको थियो ।
यस्तै, सोमबार नै भारतबाट पनि १८ लाख ७० हजार ५०० मात्रा खोप आउन लागेकोे छ । कोभ्याक्स सुविधाअन्तर्गत कतार एयरवेजबाट दिउँसो २ः३५ बजे उक्त खोप नेपाल आइपुग्ने प्रमुख चौरसियाले बताउनुभयो । नेपालमा तीन करोड ५४ लाख ६६ हजार ९८० मात्रा खोप आएकामा अहिलेसम्म दुई करोड १६ लाख ५४ हजार १०९ मात्रा खोप लगाइसकिएको छ ।