newskoseli.Com

नेकपा माओवादीको प्रदेश १ मा पनि चुनाव हुने सम्भावना

नेकपा माओवादी केन्द्रको बागमती प्रदेशमा चुनावमार्फत् नेतृत्व चयन भएपछि प्रदेश १ मा पनि चुनाव हुने सम्भावना बढेको छ ।
माओवादी नेताहरूका अनुसार सकेसम्म नेतृत्वले चुनाव नगरी सहमतिमा प्रदेश पदाधिकारी चयन गर्न जोड दिँदै अधिवेशन सकिएको सातासम्म पदाधिकारी चयन रोकेको छ ।

तर, बागमतीमा सोमबार चुनावमार्फत् पदाधिकारी छानिएपछि प्रदेश १ मा पनि चुनाव गर्नुपर्ने माग तीव्र भएको माओवादी नेताहरूले बताएका छन् । माओवादी प्रदेश १ समितिको पदाधिकारी चयन सहमतिमै गर्नका लागि आज अन्तिम प्रयास गरिने सो पार्टीले जनाएको छ । माओवादी केन्द्रले पदाधिकारीमा सहमति जुटाउन आज प्रदेश १ कार्यक्षेत्र भएका केन्द्रीय सदस्यहरूको बैठक राखेको छ ।

उक्त बैठकमा आकांक्षीहरूको विषयमा छलफल हुने र निष्कर्षका लागि प्रयास गरिने एक नेताले बताए । प्रदेश १ माओवादी केन्द्रको प्रदेश समितिको दोस्रो बैठक बुधबार बस्दैछ । बैठकले पदाधिकारी चयन गर्ने भनिए पनि आकांक्षीहरू धेरै देखिएपछि सहमतिको सम्भावना कम देखिएको छ ।

यसअघि बसेको पहिलो बैठकले पदाधिकारी चयनका लागि भन्दै ५ सदस्यीय कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा माओवादी केन्द्र प्रदेश १ का सहइन्चार्ज अजम्बर काङ्माङको संयोजकत्वमा केन्द्रीय सदस्यहरू सुरेशकुमार राई, इन्द्रबहादुर आङ्बो, हेमराज भण्डारी र रामकुमारी चौधरी छन् ।

सहमतिको प्रयासस्वरूप कार्यदलको बैठक हिजो बसेको थियो । आज बस्ने केन्द्रीय सदस्यहरू सम्मिलित बैठकपछि आकांक्षीबीच संयुक्त छलफल राखिने माओवादी स्रोतले जनाएको छ । जसका लागि दिउँसो २ बजेका लागि आकांक्षीहरूलाई विराटनगरस्थित तीनपैनीमा रहेको पार्टी कार्यालयमा बोलाइएको छ ।

पदाधिकारी छनोटसम्बन्धी सुझाव कार्यदलले सहमति जुटाउन नसकेपछि निर्वाचन प्रक्रियामै जानुपर्ने विषयमा प्रदेश सदस्यहरूले जोड दिइरहेका छन् । बागमती प्रदेशमा सहमतिको प्रयास असफल भएपछि निर्वाचन प्रक्रियामा गएको उदाहरण पेश गर्दै उनीहरूले लबिङ सुरू गरेका छन् ।

अध्यक्षलगायत नौ पदाधिकारीका आकांक्षी जिल्लैपिच्छेका आ–आफ्नो दाबी गर्दै फेसबुकको प्रचारमा देखिएका छन् । अहिलेसम्म प्रदेश अध्यक्षमा पाँचथरका हर्कबहादुर नेम्वाङ, सुनसरीका शिवकुमार डाँगी, मुक्साहाङ मेन्याङ्बो, उदयपुरका मोहनकुमार खत्री, खोटाङका ध्रुवबहादुर बुढाथोकी, देवान किराँती, मोरङका हेमकुमार कार्की, झापाका मणिकुमार साम्पाङलगायतले दाबी गरेका छन् ।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी विकलगायतले दाबी गरेका छन् । यस्तै, समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादव, झापाका पूर्णसिं राजवंशी लगायतले दाबी गरेका छन् ।

खुला उपाध्यक्षमा भने सुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ । यस्तै, सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट अइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्का लगायतले दाबी गरेका छन् ।

सहसचिवमा भने सोलुखुम्बुका ठमनाथ पराजुली, सुनसरीका मजदुर नेता भानु मैनाली र मोरङकी रचना राईले दाबी गरिरहेका छन् । कोषाध्यक्षमा धेरैले चासो नदेखाए पनि सुनसरीका मदन चुँडाल, भोजपुरका भविन्द्र अधिकारी लगायतले दाबी गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर