newskoseli.Com

एमाले जिल्ला अधिवेशन : काभ्रे अध्यक्ष र उपसचिव सर्वसम्मत

नेकपा (एमाले)को काभ्रेको १०औँ जिल्ला अधिवेशनले अध्यक्ष र एक उपसचिव पदमा सर्वसम्मत चयन गरेको छ । अध्यक्षमा अशोक ब्याञ्जू र उपसचिवमा रीता ढकाल चयन भएका हुन ।

शनिबार अबेरसम्म भएको छलफलबाट उनीहरु चयन भएका हुन । ब्याञ्जू हाल नेपाल नगरपालिका सङ्घका अध्यक्ष एवं धुलिखेल नगरका प्रमुख छन् । ढकाल तत्कालीन समयमा नेकपा (माओवादी केन्द्र)बाट मण्डनदेउपुर नगरप्रमुखको उम्मेदवार भएका थिए ।

अन्य पदाधिकारी र सदस्यको आज धुलिखेलमा निर्वाचन हुँदैछ । १०५ जिल्ला कमिटीमध्ये अब एक उपाध्यक्ष, एक सचिव, एक उपसचिव र सदस्यमा मतदान हुनेभएको हो ।

तनहुँमा श्रेष्ठ सर्वसम्मत

दमौली– नेकपा (एमाले) तनहुँका अध्यक्षपदमा श्रीप्रसाद श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिबार उम्मेदवारी दर्ताका क्रममा उनको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन । यस अगाडि उपाध्यक्ष रहनुभएका श्रेष्ठ नवौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक शिवदत्त ढकालले जानकारी दिए ।

अध्यक्ष बाहेकका पदमा भने आवश्यक सङ्ख्याभन्दा बढीको उम्मेदवारी दर्ता भएपछि निर्वाचन हुने भएको छ । उपाध्यक्षमा हरिराज कँडेल, मेखबहादुर थापा र मोहन सुनारको उम्मेदवारी दर्ता भएको छ । सचिवमा विष्णुभक्त सिग्देल र राजेश्वर ढकालको उम्मेदवारी दर्ता भएको छ । उपसचिवमा प्रदीपराज अधिकारी, खिम कुमाल र देवु विष्टको उम्मेदवारी दर्ता भएको छ ।

आइतबार बिहान दाबीविरोध, उम्मेदवारी फिर्ताको समय रहेको छ । समयभित्र उम्मेदवारी फिर्ता नभए दिउँसो १ बजेबाट मतदानको तयारी गरिएको निर्वाचन समितिका संयोजक ढकालले जानकारी दिए । म्याग्दे, बन्दीपुर, आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकाबाट प्रतिनिधित्व हुने सदस्य पनि सर्वसम्मत निर्वाचित भएका छन् ।

अधिवेशनले अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव, दुई उपसचिव चयन गर्नेछ । प्रत्येक नगरपालिकाबाट पाँच खुला र दुई महिला गरी २८, प्रत्येक गाउँपालिकाबाट तीन खुला र दुई महिला गरी ३०, अल्पसङ्ख्यकको तर्फबाट दुई खुला र एक महिला गरी तीन, मजदुरबाट दुई खुला र एक महिला गरी तीन, दलितबाट तीन खुला र दुई महिला गरी पाँच, आदिवासी जनजातिबाट दुई खुला र एक महिला गरी तीन, अपाङ्गबाट एक खुला र एक महिला गरी दुई सदस्य निर्वाचित गर्नेछ । खुलातर्फ १७ खुला र ९ महिला गरी २६ निर्वाचित हुनेछन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर