दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा एक नौ महिने शिशुको मृत्यु भएको छ । आज बिहान साढे ३ बजेतिर लमही–भालुवाङ सडकखण्डको राप्ती गाउँपालिका–५ स्थित सिसहनियाँको दालाई खोला नजिक बस दुर्घटना हुँदा भारतको मोतीहार बस्ने असिर आलमका नानु नामका नाबालकको मत्यु भएको हो ।
वीरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दुर्घटना हुँदा सख्त घाइते शिशुको उपचारका लागि कोहलपुर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो । दुर्घटनामा अन्य नौ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।
घाइते हुनेहरूमा वीरगञ्ज उपमहानगरपालिका– १६ निवासी ३५ वर्षीय रतन शाही, रौतहट पूर्वाह गाउँपालिका ६ निवासी ३४ वर्षीय रामविनायक कुर्मी, भारत विहार निवासी ४० वर्षीय सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत छिन्चु नगरपालिका–९ निवासी १७ वर्षीय दिलबहादुर क्षेत्री रहेका छन् ।
त्यस्तै बर्दियाको गेरुवा गाउँपालिका–१ निवासीे ३८ वर्षीय पूर्णप्रसाद पाण्डे, बाँके कोहलपुर नगरपालिका– १८ निवासी ३५ वर्षीया शान्ता वली, हुम्ला तातोपानी गाउँपालिका ७ निवासी ४५ वर्षीय धनबहादुर रावत र सोही ठाउँ निवासी ५२ वर्षीय गोरख रावत सामान्य घाइते भएका थिए । घाइते सबैको लमही अस्पतालमा उपचारपछि घर गइसकेको प्रहरीले बताएको छ ।
बसमा २० यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकभन्दा २० मिटर तल पल्टिएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।