newskoseli.Com

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा पुष्पहार

राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका गई त्यहाँ अवस्थित पृथ्वीनारायण शाहकाे सालिकमा पुष्पहार अर्पण गरेकी छिन् । ३००औं पृथ्वीजन्मयन्तीकाे अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानद्वारा संयुक्त रुपमा मंगलबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ‘नेपाल एकीकरणका नायक’ प्रति पुष्पहार अर्पण गरेर सम्मान प्रकट गरेकी हुन् ।

सोही अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले तथा आयोजक चारवटै संस्थाका तर्फबाट पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरिएको थियो । कार्यक्रममा पूर्व उपप्रधानमन्त्री कमल थापाले पनि राष्ट्रनिर्माताका सालिकमा माल्यार्पण गरे । कार्यक्रममा उपस्थित राष्ट्रसेवकलगायत सर्वसाधारणले पनि सालिकमा पुष्पगुच्छा अर्पण गरेका थिए ।

यसअघि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानबाट सांस्कृतिक झाँकीसहित शोभायात्रा राजधानीको विभिन्न भाग परिक्रमा गरी सिंहदरबारको पश्चिम मूलढोकामा आइपुगेको थियो । शोभायात्राले पनि सालिकमा परिक्रमा गरेको थियो ।

वि.सं. १७९९ चैत २५ गते राजा बनेका पृथ्वीनारायण शाहले ५२ राज्यमा विभक्त राज्यलाई एकीकरण गरेका थिए । वि.सं. १८२६ मा काठमाडौं उपत्यकाका तीन वटै राज्य विजयी गरी यहीं राजधानी स्थापना गरेका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर