newskoseli.Com

एकै दिन कोरोना पुष्टिको सर्वोच्च रेकर्ड : मंगलबार थपिए १० हजार २५८ संक्रमित, संक्रमणदर ४५%, दर्जन जिल्लामा ५ सयमाथि सक्रिय संक्रमित

नेपालमा कोरोनाभाइरस महामारीको थर्ड वेभ (तेस्रो लहर) उत्कर्षमा पुग्दै गर्दा मंगलबार एकै दिन १० हजार २ सय ५८ जनामा संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा एकै दिन कोरोना पुष्टि भएको सबैभन्दा बढी हो । यसअघि एकै दिन सबैभन्दा बढी संक्रमितको पुष्टि २८ वैशाख, २०७८ मा भएको थियो । त्यस दिन कोरोना पुष्टि हुनेको संख्या ९ हजार ४ सय ८३ जना थियो ।

अझ संवेदनशील पक्ष त के छ भने पछिल्लो २४ घन्टामा परीक्षण गरिएकामध्ये झन्डै आधामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार देशभरका विभिन्न प्रयोगशालामा २२ हजार ८ सय २८ जनाको परीक्षण गर्दा १० हजार २ सय ५८ जनामा कोरोना भेटिँदा संक्रमणदर ४४.९३ प्रतिशत पुगेको छ ।

यीमध्ये १७ हजार ८ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७ सय ३० र ४ हजार ९ सय ५६ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ । मंगलबारको विवरणअनुसार दर्जन जिल्लामा सक्रिय संक्रमितको संख्या ५ सय नाघेको समेत मन्त्रालयले जनाएको छ ।

यसअघि संक्रमण पुष्टि भएकामध्ये पछिल्लो २४ घन्टामा ५ सय ६२ जना संक्रमणमुक्त भएका छन् । मंगलबार एक जना संक्रमितको मृत्यु भएको छ भने यतिबेला देशभर ३९ हजार ४४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले उल्लेख गरेको छ ।

यी दर्जन जिल्लामा ५ सय नाघे सक्रिय संक्रमित–

  1. काठमाडौं
  2. भक्तपुर
  3. ललितपुर
  4. चितवन
  5. मोरङ
  6. कास्की
  7. सुनसरी
  8. रुपन्देही
  9. कैलाली
  10. झापा
  11. काभ्रे र
  12. मकवानपुर

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर