newskoseli.Com

नरैनापुरमा ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान, १२ शिक्षक नियुक्त

नरैनापुर गाउँपालिकाले ‘हाम्रो विद्यालय म बनाउँछु’ अभियान सुरू गरेको छ । संविधान दिवस, २०७९ को पूर्वसन्ध्यमा १२ जना करार शिक्षकहरुलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले अभियानको घोषणा गरेका हुन् ।

सार्वजनिक शिक्षा सुधार गर्न विद्यालयका प्रधानाध्यापक र शिक्षकको मुख्य भूमिका हुने उल्लेख गर्दै सार्वजनिक विद्यालय बचाउने र सुधार्ने जिम्मा प्रधानाध्यापक र शिक्षकको हातमा रहेको अध्यक्ष शाहले बताए । शिक्षण पेशालाई मर्यादित बनायो भने शैक्षिक सुधारमा उल्लेख्य प्रगति हुने बताउँदै नरैनापुर गाँउपालिकामा रहेका विद्यालयहरूमा अत्यावश्यक भौतिक पूर्वाधारहरु तयार पार्ने योजना बनाएको समेत उनले बताए ।

निष्पक्ष भएर गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ भूमिका निर्वाह गर्न अध्यक्ष शाहले निर्देशन दिए । गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले शिक्षा सेवाको क्षेत्र भएकाले सेवा–सुविधा पाइनँ भनेर पढाउन छाडी आन्दोलन गर्न जान नमिल्ने बताए । नरैनापुरमा शिक्षाको गुणस्तर सुधार हुँदै गएको बताउदै दृढ इच्छाशक्ति भए सबै ठाउँमा शैक्षिक गुणस्तरको सुधार गर्न र विद्यार्थीहरुलाई सक्षम बनाउन सकिने उनले बताए ।

वडा नं. ४ का अध्यक्ष मसूद अहमद शाहले लोकसेवाको मापदण्डमा रहेर करार सेवाका लागि पालिकाले खोलेको विज्ञापनमा ६८ जनामध्येबाट १२ जनाले नाम निकालेको बताए । नरैनापुरको शिक्षालाई अझ उचाइमा पुर्याउनका लागि भूमिका निर्वाह गर्न नवनियुक्त शिक्षकहरुसँग उनले आग्रह गरे ।

नरैनापुर गाउँपालिकाका शिक्षा शाखा अधिकृत कृष्णप्रसाद थारुले गुणस्तरीय शिक्षाका लागि आफ्नो पूरै टिम खटेर लागिपरेको बताए । विद्यार्थीलाई हरतरहले शिक्षण सिकाइ सहजीकरण गरिरहेको बताउँदै नवनियुक्त शिक्षकहरुलाई समेत शिक्षण पेशामा गम्भीर भएर लाग्न उनले आग्रह गरे ।

गाउँपालिका अध्यक्ष शाहको अध्यक्षता भएको नियुक्तिपत्र हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खराल, वडा नं. २ का अध्यक्ष मसुद अहमद शाह, शिक्षा अधिकृत चौधरी, शिक्षा समितिका सदस्य एवं गाँउपालिका अध्यक्षका स्वकीय सचिव ब्रिजेन्दर यादव, शिक्षक अफसर अलि, सज्जाद खान, कमल केसीलगायत सहभागी थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर