newskoseli.Com

प्रचण्ड–ओलीबीच ‘भनाभन’ : गठबन्धनमा चुलिँदै तिक्तता

सातदलीय सत्ता गठबनधनभित्रका मुख्य शक्तिहरु एमाले, माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीबीच तिक्तता चुलिँदै गएको छ । गृहमन्त्री नपाएर रास्वपा सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष खड्ग ओलीबीच सम्बन्ध चिसिँदै गएको हो ।

गठबन्धनभित्र बढ्दै गएको तिक्तताका कारण नेपाली कांग्रेस भने हौसिएको छ । वर्तमान सत्ता गठबन्धनमा खटपट सुरू भइसकेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले शनिबार बताए । ढिलो–चाँडो कांग्रेस नै मुलुकको नेतृत्वमा आउने दाबी गर्दै वर्तमान सत्ता गठबन्धन लामो समय नजाने दाबी उनले गरे ।

निर्वाचनमा कांग्रेसलाई पहिलो दलका रूपमा जनमत प्राप्त भए पनि अनेकन चलखेल गरेर सत्ताबाहिर पुर्याइएको भन्दै विनायोजना सत्ता प्राप्तिकै लागि मात्र गरिएको गठबन्धनमा अहिले नै खटपट आइसकेको प्रवक्ता महतले बताए । सत्ता सहयात्राका प्रमुख पात्र ओली र उनकै समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डबीच राष्ट्रपति निर्वाचनको विषयलाई लिएर चिसोपन बढ्दै गएको गठबन्धनकै नेताहरुले सार्वजनिक गर्न थालेका छन् ।

शुक्रबार बसेको उच्चस्तरीय संयन्त्रको बैठकमा समेत राष्ट्रपति निर्वाचनको विषयमा प्रचण्ड र ओलीबीच ‘भनाभन’ नै भएको थियो । बैठकमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिको चयन राष्ट्रिय सहमतिमा गर्नुपर्ने बताएपछि एमाले अध्यक्ष ओलीले प्रतिवादमा उत्रेको कुरा बैठकमा सहभागी एक नेताले बताएको खबर आइतबारको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर