newskoseli.Com

छोराको स्कुल ‘फी’ तिर्न आमाको तिलहरी धितो !

भनिन्छ– आमा महान् हुन् । कोहलपुर– २, गौरीनगरकी कस्तुरा बुढाले आमाको यस्ते महानता देखाएकी छन् । छोरा पृथीबहादुरको माध्यमिक शिक्षा परीक्षा (एसईई) अघिको बक्यौता शुल्क बुझाउन उनले आफ्नो तिलहरी धितो राखेकी छन् ।

शुल्क बुझाउन नसकेका कारण विद्यालयले ‘प्रवेशपत्र’ नदिएपछि गलाको तिलहरी पसलमा धितो राखेर उनले शुल्क तिरेकी हुन् । कस्तुराले कोहलपुरको एक सुनचाँदी पसलमा पाँच हजार रूपैयाँमा तिलहरी धितो राखेकी छन् । ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालयमा छोराको शुल्क तिर्न सकेकी थिइनँ,’ उनले भनिन्– ‘शुल्क नतिर्दासम्म स्कुलले प्रवेशपत्र नै दिएन, अन्तिममा तिलहरी धितोमा राखें र छोराको शुल्क बुझाएँ ।’

शुल्कका लागि पैसा जुटाउन उनले घरमा पालेको खसी बेच्ने सोच बनाएकी थिइन् । तर, गाउँमा मान्छे मरेर ‘जुठो’ परेकाले खसी बिकेन र उनले सोचेअनुसार हुन सकेन । ‘गाउँमा मान्छे बितेपछि खसी काट्ने कुरा भएन र खसी बिक्री नै भएन,’ उनले भनिन्– ‘अनि छोराको परीक्षा नरोकियोस् भनेर तिलहरी धितो राखी पैसा निकालें ।’

उनका दुई छोरा समावेशी माध्यमिक विद्यालय, तिलकपुरका विद्यार्थी हुन् । एउटा छोरा नवीनबहादुरको स्वास्थ्य अवस्था कमजोर छ । कस्तुराले तिलहरी धितो राखेर शुल्क तिरेपछि अर्का छोरा पृथीवहादुरले भने एसईई दिन पाउने भए ।

‘विद्यालयबाट छोराको शुल्क बुझाउन भनेर बेला–बेला खबर आउँथ्यो,’ उनले भनिन्– ‘तर के गर्नु ! गरिबीले गर्दा तिर्न सकेकी थिइनँ ।’ अन्तिममा परीक्षा नै छुट्ने भएपछि तिलहरी धितोमा राखेर शुल्क तिरेको उनले बताएको खबर शुक्रबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर