newskoseli.Com

माओवादीमा थपिँदै ३५ केन्द्रीय सदस्य : को–को पर्दैछन् ?

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्यको संख्या अझै बढ्ने भएको छ । बुधबारदेखि काठमाडौंमा सुरु केन्द्रीय समितिको बैठकले थप ३५ जनालाई केन्द्रीय समितिमा मनोनीत गर्ने निर्णय गर्न लागेको छ ।

माओवादी केन्द्रको केन्द्रीय समितिमा अहिले ३ सय ८५ केन्द्रीय सदस्य र १ सय ९८ जना वैकल्पिक केन्द्रीय सदस्य छन् । सो पार्टीका एक पदाधिकारीले जनाएअनुसार केन्द्रीय समिटीमा महिलाको संख्या ३३ प्रतिशत नरहेकाले मनोनीत गरेर सो संख्या पूरा गर्न लागिएको हो । केही संख्यामा भने पार्टी एकीकरणबाट आएका नेता पनि केन्द्रीय सदस्यमा थपिने भएका छन् ।

‘३५ जना केन्द्रीय सदस्य मनोनीत हुनुहुन्छ, पार्टीमा ३३ प्रतिशत महिलाको संख्या नभएकाले मनोनीत गरेर सो संख्या पूरा गरिनेछ, साथै यसमा केही पार्टी एकीकरणबाट आएका नेता पनि हुनुहन्छ,’ ती पदाधिकारीले भने– ‘अध्यक्ष कमरेड प्रचण्डले यसको अन्तिम टुंगो लगाउनुहुन्छ, यसमा केही घटबढ पनि हुन सक्छ ।’

पार्टीको विशेष महाधिवेशन स्थगित गर्दै मंसिरमा गरिने विधान महाधिवेशन’ बारे समेत केन्द्रीय समितिको यस बैठकमा छलफल हुनेछ । पार्टीलाई सशक्त एवं बलियो बनाउँदै सांगठनिक रूपमा सुदृढ गर्ने अभियानमा माओवादी केन्द्र अगाडि बढेको बताइएको छ ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मौखिक रुपमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । सो प्रतिवेदनमा समूहगत छलफल हुने एजेन्डा पदाधिकारी बैठकले यसअघि नै तय गरिसकेको छ । सांगठनिक, पछिल्लो राजनीतिक अवस्था, सरकार, समाजवादी मोर्चालगायतका विषयमा प्रचण्डले प्रतिवेदन प्रस्तुत गरेका छन् ।

बैठकमा विधान महाधिवेशन, विभिन्न पार्टीसँग एकता भएपछि आएका नेतासहित अन्य नेताको जिम्मेवारी बाँडफाँट, समाजवादी मोर्चा, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालगायतसँग एकता, संघीय सरकार तथा प्रदेश सरकारका कामको समीक्षालगायतका विषयमा छलफल हुने माओवादी केन्द्रका सचिव गणेश साहले बताएको खबर राजधानी दैनिकले प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर