newskoseli.Com

१७७ नेपालीलाई साउदीमा २९ करोड जरिवाना

नेपालमा भएको सम्झौताअनुसार काम र तलब पाइएन भन्दै साउदी अरबमा आफू काम गरिरहेको कम्पनी छोड्दै हुनुहुन्छ भने होसियार ! त्यसरी काम छाडे एकातिर तपाईं ‘अवैधानिक कामदार’ बन्नुहुन्छ भने अर्कोतिर सम्झौता भएको कम्पनीले तपाईंविरुद्ध मुद्दा दायर गर्न सक्छ । कमाउन भनी घर छाडी धाएको परदेशमा उल्टै जरिवाना तिर्न नसकेर बन्धक बन्नुहोला ।

तपाईंसँग साउदीको अनुमति ‘अकामा आईडी’ छ तर तपाईंको नामबाट अरू नै कसैले सिमकार्ड निकाल्यो भने पनि जरिवानाको फन्दामा पर्नुहोला । यी र यस्ता विषयमा ध्यान नदिँदा १ सय ७७ जना नेपालीले साउदीमा ठूलो जरिवाना तिर्नुपर्ने भएको छ ।

उनीहरूलाई २९ करोड ५४ लाख ६० हजार रुपैयाँ (८६ लाख ९० हजार साउदी रियल) जरिवाना तोकिएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ । नेपाली कामदारको मुख्य आकर्षक मानिन्छ साउदी । यहाँका नीति र नियमको पालना नगर्दा कमाउन आएका नेपाली कामदारहरू उल्टै जरिवाना तिर्नुपर्ने अवस्थामा पुगेका छन् ।

खाडी मुलुकमध्ये नेपालीका लागि दोस्रो ठूलो मुलुकमा पर्छ साउदी । साउदीमा आउने नेपाली कामदारको संख्या र माग धेरै छ तर नेपालमा गरिने सम्झौता र साउदीमा पुगेपछि हुने सम्झौतामा सेवा–सुविधामा निकै भिन्नता हुने गर्छ ।

‘फ्री भिसा फ्री टिकट’ भन्ने गरिए पनि साउदी आउने कामदारसँग म्यानपावर कम्पनीले १ लाखदेखि २ लाख रुपैयाँसम्म उठाउने गर्छन् । अर्कोतिर, नेपालमा हुने सम्झौताअनुसार साउदीमा तलब र सेवा–सुविधा पाइँदैन ।

त्यसैकारण नेपाली कामदार आफू कार्यरत कम्पनीबाट भाग्ने गर्छन् । त्यसरी भागेपछि उनीहरू स्वतः अवैधानिक कामदार बन्छन् । अनि सम्बन्धित कम्पनीले विभिन्न बहानामा भागेका कामदारविरुद्ध मुद्दा हाल्ने र लाखौं रियल जरिवाना तिर्न बाध्य बनाउने गरेका छन् ।

सम्झौताअनुसारको काम नपाउने र धेरै कमाउने लोभमा परेर आफू कार्यरत कम्पनी छाडी भाग्दा सम्बन्धित कम्पनीले प्रतिव्यक्ति २ हजारदेखि ३ लाखसम्म जरिवाना तोकेर मुद्दा दायर गर्छन् । कतिपय मुद्दामा अदालतको फैसला प्रक्रियामा उपस्थित नहुँदा अदालतको फैसलाअनुसार जरिवाना समेत बढ्दै जाने गरेको खबर शुक्रबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर