newskoseli.Com

एमालेमा तोडिँदै ओलीको एकाधिकार : प्रदेश अधिवेशनबाट शक्ति संघर्षको प्रष्फूटन

लामो समयदेखि पार्टीभित्र एकछत्र एकाधिकार जमाउँदै आएका एमाले अध्यक्ष खड्ग ओलीको हैकमविरुद्ध चालु प्रदेश अधिवेशनहरुमार्फत सशक्त प्रतिरोधको सन्देश प्रवाहित भएको छ । अध्यक्ष ओलीले प्रदेश अधिवेशनमा ‘सर्वसम्मत’ नेतृत्व चयन गर्नुपर्ने नाममा आफ्नै पोल्टाका मान्छेहरुलाई नेतृत्वमा पुर्‍याउने हर्दम प्रयास गरिरहे पनि त्यो प्रयत्न सवैतिर निरर्थक हुँदै गएको छ ।

ओलीले ‘सर्वसम्मत’ गर्न दबाब दिए पनि प्रदेश अधिवेशनहरूमा प्रतिस्पर्धी र कार्यकर्ता पंक्तिले त्यसलाई अस्वीकार गरेका छन् । भदौ तेस्रो साता एमालेको लुम्बिनी प्रदेश अधिवेशनबाट सुरु भएको आन्तरिक प्रतिस्पर्धाको क्रम वाग्मती प्रदेशमा पनि कायम रह्यो । यसबाट एमालेमा प्रदेश अधिवेशनमार्फत नयाँ शक्ति संघर्ष उत्कर्षमा पुग्दै गरेको स्पष्टै देखिएको छ ।

कर्णाली र कोशी प्रदेशमा जारी अधिवेशनमा पनि नेतृत्व छनोट आन्तरिक प्रतिस्पर्धाबाट हुने देखिएको छ । गण्डकी प्रदेशको अधिवेशन उदघाटन सोमबार हुँदैछ भने मधेश, सुदूरपश्चिम र उपत्यका विशेषको उदघाटन असोज तेस्रो साताभित्र हुनेछ । यी अधिवेशनहरुमा विभिन्न पदका लागि अनेकौं नेताका दाबी सार्वजनिक हुन सुरु भइसकेको छ ।

एमाले विभाजन हुँदै जिल्ला अधिवेशनसम्म आइपुग्दा पार्टीभित्र सर्वसम्मति भनेकै ‘उन्नत आन्तरिक लोकतन्त्र’ हो भन्ने भाष्य निर्माण गरिएको थियो । अध्यक्ष ओली प्रदेशको नेतृत्व छनोटमा ‘सर्वसम्मति’ का नाममा आफ्नै पोल्टाकालाई नेतृत्वमा पुर्‍याउन प्रयासरत देखिन्छन् ।

२०७८ मंसिरमा चितवनको सौराहामा सम्पन्न दसौं महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी तथा केन्द्रीय सदस्यका नाम हलमा पढेर सुनाएका थिए । जुन पदमा जसको नाम घोषणा गरिएको थियो, त्यसमा उसैले मात्रै उम्मेदवारी दिनू भनिएको थियो । तर, सूचीबाहिर रहेका केही नेताहरूले समेत उम्मेदवारी दिए पनि उनीहरूलाई ‘मतदान नगर्न’ प्रतिनिधिलाई उर्दी जारी गरिएको थियो ।

सौराहा महाधिवेशनमा उम्मेदवारी दिएका सूचीबाहिरका भीम रावल, घनश्याम भूसाल, टंक कार्की, भीम आचार्यसहितलाई ‘मतदान नगर्नू’ भनी उक्त उर्दीमार्फत प्रतिनिधिहरूलाई ‘सचेत’ गराइएको थियो । आन्तरिक लोकतन्त्रलाई निषेध गरेको भन्दै पार्टीभित्र र बाहिर पनि अध्यक्ष ओलीको आलोचना भएको थियो ।

तर, जारी प्रदेश अधिवेशनबाट भने ओलीको एकाधिकारविरुद्ध ‘प्रतिरोध’ सुरु भएको एमाले नेताहरू बताउँछन् । ‘एमाले पहिले आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने पार्टी थियो; सौराहा महाधिवेशनमा नियन्त्रित आन्तरिक प्रजातन्त्रिक अभ्यास गरिएको थियो,’ एमालेका एक पदाधिकारीले भने– ‘श्रेष्ठता र पहलकदमीमार्फत नेतृत्वमा पुग्ने हाम्रो नीति थियो, त्यसलाई बीचमा रोक्ने काम गरियो; अहिले भने कार्यकर्ताबाट त्यसविरुद्ध विद्रोह भएको देखिएको छ; ओली नजिककाले नै विद्रोह सुरु गरेका छन् ।’

उनका अनुसार प्रदेश अधिवेशनबाट एमाले पुरानो चरित्रको आन्तरिक लोकतन्त्रमा फर्किन खोजेको छ । ‘बरु नेतृत्वको आँखी हुन तयार छन् तर जतिसुकै प्रलोभन र दबाब दिँदा समेत उम्मेदवारी दिने आँट कार्यकर्ताले गरेका छन्’– ती पदाधिकारीले भनेको खबर इकान्तिपुरले आइतबार प्रकाशित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर