newskoseli.Com

५ महिनामा १ हजार १ सय १६ आगलागी : १६ को मृत्यु, १ सय ४५ घाइते

फाइल तस्बिर ।

बितेका पाँच महिनाबीच देशका विभिन्न जिल्लामा १ हजार १ सय १६ वटा आगलागीका घटना भएका छन् । ती घटनामा १६ जनाको मृत्यु भएको छ । आगलागीका ती घटनाबाट १ सय ४५ जना घाइते समेत भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिएका छन् ।

वरिष्ठ उपरीक्षक अधिकारीका अनुसार आगालागीबाट १ सय ९० घर, १ सय ३० गोठ, एउटा सरकारी कार्यालय र ४ सय ५५ पशु–चौपायको क्षति भएको छ । यी आगालागी हुँदा नियन्त्रणका लागि ८ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको थियो । आगालगीबाट करिव ५० करोड बराबरको क्षति भएको बताउँदै २९ परिवार विस्थापित भएको समेत प्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।

यो अवधिमा सबैभन्दा बढी कोसी प्रदेशमा ३ सय ३१ स्थानमा आगलागी घटना भए । प्रहरीले मङ्गलबार सार्वजनिक गरेको विवरण अनुसार मधेश प्रदेशमा २ सय ६९, बागमतीमा ७०, काठमाडौं उपत्यकामा १ सय ४०, गण्डकी प्रदेशमा ८१, लुम्बिनीमा १ सय १४, कर्णालीमा ५१ र सुदूरपश्चिम प्रदेशमा ६० वटा आगलागीका घटना भए ।

दैनिक रूपमा आगलागीका घटना भइरहेका भन्दै सोमबार मात्रै देशभरका १९ ठाउँमा आगलागी भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती आगलागीबाट २ जना घाइते भएको प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

दैनिक आगलागीका घटना भइरहेकाले आगो, विद्युत् तथा ग्यासका सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ । विद्युत् सर्ट भएर, ग्यास चुहिएर र जाडोमा आगो ताप्दा असावधानी जस्ता कारणले आगलागीका घटना बढिरहेका प्रवक्ता डा. भट्टराईले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर