नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । चितवनको माडी नगरपालिका– १, बनकट्टास्थित बोटे सामुदायिक होमस्टे पुगेका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेष रुपले सोच्नुपर्ने बताए ।
‘बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अलि विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु,’ अध्यक्ष प्रचण्डले भने– ‘मैले सक्दो पहल आफ्नो ठाउँबाट गर्ने छु ।’ बोटे समुदायको प्रगति भएको उनले बताए । ‘तपाईंहरु जो नदीको तिरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरुलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाईंहरुको समुदायको प्रगति हो, यसलाई अझै बढाएर लैजानुपर्छ’– उनले भने ।
चितवनको माडी नगरपालिका– १, बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको उद्घाटनका लागि माडी आइपुगेका प्रचण्डलाई स्थानीयवासीले बोटे सामुदायिक होमस्टेमा स्वागत गरे । सो अवसरमा प्रचण्डले बोटे समुदायका अगुवाहरुसँग संक्षिप्त कुराकानी गरे ।
बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बोटे समुदायका अगुवाहरुले बताए । बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता अध्यक्ष प्रण्डले व्यक्त गरे । बोटे समुदायको राजधानीका रुपमा चिनिने यस गाउँमा आएर प्रचण्डले बोटे संस्कृतिसँग साक्षत्कार गरेकामा स्थानीयवासीले खुसी प्रकट गरे ।