देशका विभिन्न स्थानमा आगलागी हुँदा जलेर करोडौंको धनमाल नष्ट भएको खबर केन्द्रीय प्रहरी समाचार कक्षले शुक्रबार प्रेषित गरेको छ ।
काठमाडौं महानगरपालिका– २७, असनस्थित सुनिल तुलाधरको घरमा रहेको इलेक्ट्रिक सामान तथा भाँडा गोदाममा विद्युत् सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ३५ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
चुमनुब्री गाउँपालिका– ६, ताजु, गोरखाका कुलजंगको ३ वटा घरमा बिहीबार दिउँसो आगलागी हुँदा ३ वटा घर पूर्णरूपमा जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
पोखरा महानगरपालिका– ७, पार्दी, कास्कीस्थित जिल्ला कारागार कास्कीको ब्लक ‘बी’ भित्र रहेको चमेनागृहमा विद्युत् सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा टिभी १ थान, डिफ्रिज २ थान लगायतका सामानहरू जलेर करिब २ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
हिमाली गाउँपालिका– ५, बच्छया, बाजुराका गौरी मलालको घरमा बिहीबार साँझ आगलागी हुँदा घरभित्र रहेका २ तोला सुन, नगद, लत्ताकपडा, भाँडावर्तन, खाद्यान्न लगायतका सामान जलेर करिब ७ लाख ९० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगालागी नियन्त्रणमा लिनुका साथै अनुसन्धान गरिरहेको छ ।