newskoseli.Com

कार्कीको ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ सार्वजनिक

राजनीतिक विश्लेषक, अनुसन्धाता एवम् लेखक मनिकर कार्कीको पछिल्लो कृति ‘अर्थदृष्टिः अल्पविकासको अर्थ–राजनीति’ शुक्रबार सार्वजनिक भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, पूर्वमन्त्री तथा एमाले नेता सुरेन्द्र पाण्डे, पूर्वमन्त्री रामकुमारी झाँक्री, पूर्वमन्त्री राजेन्द्र श्रेष्ठ र अनुसन्धाता डा. कल्पना खनालले राजधानीमा आयोजित कार्यक्रममा संयुक्त रूपमा पुस्तकको विमोचन गरे ।

‘यो किताब नेपालको आर्थिक विकासको मार्गचित्र तय गर्न चाहने नीति–निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीहरूका लागि अमूल्य पाठ्यसामग्री हो,’ विमोचन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री डा. भट्टराईले भने– ‘यसले समस्याको जरोसम्म पुगेर समाधानका वैकल्पिक बाटाहरू प्रस्तुत गरेको छ ।’

‘नेपालको आर्थिक अवस्थालाई विश्व सन्दर्भको आर्थिक–राजनीतिक परिवेशसँग जोडेर विश्लेषण गरिएको छ,’ कार्कीद्वारा लिखित पुस्तकको विश्वव्यापी सान्दर्भिकतामाथि प्रकाश पार्दै अनुसन्धाता डा. खनालले भनिन्– ‘यसकारण यो पुस्तक अन्तर्राष्ट्रियस्तरमा समेत प्रासङ्गिक छ ।’

पुस्तकले विकासका संरचनात्मक समस्याहरूलाई विस्तृत र तथ्यपरक ढंगबाट प्रस्तुत गरेको पूर्वमन्त्री पाण्डेले बताए । ‘नेपालको विकास प्रक्रियामा देखिएका अवरोधबारे हरेक नागरिकले बुझ्नु जरुरी छ र यो किताब त्यसका लागि एक प्रभावकारी माध्यम बन्नेछ’– पूर्वमन्त्री पाण्डेले भने ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. पौडेलले कार्कीको यस किताबमा गरिएको ऐतिहासिक र समसामयिक विश्लेषणको प्रशंसा गरे । ‘राणाकालदेखि नै नेपाली अर्थतन्त्रमा देखिएका कमजोरीलाई लेखकले गहिरो अध्ययनका साथ प्रस्तुत गरेका छन्,’ गभर्नर डा. पौडेलले भने– ‘वैकल्पिक अर्थतन्त्रको अवधारणालाई समेत समेटेर लेखकले आर्थिक लेखनमा महत्त्वपूर्ण योगदान दिएका छन् ।’

अर्थतन्त्र र विकासका विषयलाई गतिशील र अद्यावधिक राख्नुपर्नेमा पूर्वमन्त्री झाँक्रीले जोड दिइन् । ‘वर्तमान परिस्थितिमा हामीले कसरी उत्कृष्ट नीति र रणनीति अपनाउन सक्छौं भन्ने कुरा बुझ्न यो किताब अत्यन्त उपयोगी छ’– उनले भनिन् । यो पुस्तक मनिकरको दोस्रो पुस्तकाकार कृति हो ।

‘वैकल्पिक अर्थतन्त्र’ नामक उनको पहिलो किताब यसअघि नै प्रकाशित भइसकेको छ । नेपालको आर्थिक नीतिका सम्बन्धमा वैकल्पिक दृष्टिकोणहरूबारे पहिलो किताबले चर्चा गरेको छ । इन्डिगो इन्कद्वारा प्रकाशित नयाँ पुस्तकको मूल्य ६९९ रुपैयाँ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर