फागनु २१ गतेका लागि तोकिएको चुनाव २०८३ जेठको पहिलो हप्तामा हुने गरी सार्न प्राज्ञिक क्षेत्रबाट सुझाव आएको छ । काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख प्रा.डा. निर्मलमणि अधिकारीले २०८२ फागुनमै चुनाव गर्नु उपयुक्त नभएको भन्दै चुनाव सार्नका लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने बताएका हुन् ।
‘चुनाव हुनुपर्छ तर चुनाव मात्रै ‘एक मात्र विकल्प’ होइन; चुनावभन्दा पहिल्यै समाधान गर्नुपर्ने धेरैवटा मुद्दाहरू छन्, समस्या समाधान सहित चुनाव गर्ने हो, फगत चुनावका लागि चुनाव मात्रै गर्ने होइन,’ प्रा.डा. अधिकारीको तर्क छ– ‘केही समय पछि सारेर चुनाव गर्दा पनि हुन्छ ।’ जेन–जीका कतिपय अपरिहार्य माग चुनावभन्दा पहिले नै सम्बोधन गरिनुपर्ने खालका रहेको उल्लेख गर्दै त्यसका लागि पर्याप्त समय चाहिने तर्क उनले गरेका छन् ।
चुनावको तयारी नपुगेको, फागुनमै चुनाव गर्न हिमाली क्षेत्रमा मौसमी प्रतिकूलता हुने, चुनावअघि नै हुनुपर्ने पार्टीहरूका महाधिवेशनका लागि पनि समय चाहिने र सुरक्षा निकायको मनोबल स्थापित हुनका लागि पनि केही समय दिनुपर्ने कारणहरूले गर्दा फागुनमा नभई जेठको पहिलो सातामा चुनाव गराइनु वाञ्छनीय हुने प्रा.डा. अधिकारीको भनाइ छ ।









