newskoseli.Com

नेपालको ऊर्जाबारे के देखे भारतीय उद्योगले ?

मुलुकमा ऊर्जाको चरम सङ्कट बढेका बेला छिमेकी भारतका १९ उद्योगले नेपालको ऊर्जा क्षेत्रमा मात्र ४५ अर्ब ८० करोड ३० लाखभन्दा बढी रूपियाँ लगानी गर्ने भएका छन्

विश्वमा उदाउँदो महाशक्तिका रुपमा परिचित भारतका ६ सय ३१ उद्योगले नेपालमा विभिन्न क्षेत्रमा ८० अर्ब ६७ करोड १० लाख रूपैयाँभन्दा बढी लगानी गर्न स्वीकृति प्राप्त गरेका छन् ।

भारतीय उद्योगको सबैभन्दा बढी लगानी नेपालको ऊर्जामूलक क्षेत्रमा रहेको उद्योग विभागले जनाएको छ । सरकारले ‘विदेशी लगानी नीति, २०७१’ मार्फत विदेशी लगानीलाई ऊर्जा क्षेत्रमा प्राथमिकता दिएपछि ऊर्जा क्षेत्रमा विदेशी लगानी बढेको विभागका महानिर्देशक महेश्वर न्यौपाने बताए ।

लगानी गर्न स्वीकृति प्राप्त गरेका ६ सय ३१ भारतीय उद्योगको कृषि तथा वनजन्य क्षेत्रमा ४२ करोड, ७० लाख, निर्माणमा १ अर्ब ८७ करोड ६० लाख, उत्पादनमूलक क्षेत्रमा १७ अर्ब ५१ करोड ७० लाख रूपैयाँ लगानी छ ।

त्यस्तै खनिजमा २ अर्ब ४४ करोड ९० लाख, सेवा क्षेत्रमा १० अर्ब ६२ करोड २० लाख र पर्यटनमा १ अर्ब ९७ करोड ५० लाख रूपैयाँ लगानी गर्न स्वीकृति प्राप्त गरेको विभागको तथ्याङ्क छ ।

वि.सं. २०७३ वैशाख मसान्तसम्म स्वीकृति पाएका भारतीय उद्योगको उक्त लगानीबाट मुलुकका विभिन्न क्षेत्रमा ६५ हजार १०७ रोजगारी सिर्जना हुनेछ ।

ऊर्जा क्षेत्रमा विदेशी लगानी प्रोत्साहन गर्न छुट्टै रणनीति र सरकारी निकायबीच आवश्यक समन्वयको खाँचो रहेको महानिर्देशक न्यौपानेको भनाइ छ । विदेशी उद्योग दर्ता प्रक्रियाको सहजताका लागि विभागले अनलाइन सेवा सुरु गर्ने तयारी गरेको र आगामी जुलाइसम्ममा सञ्चालनमा आउने उनले बताए ।

नेपालमा वि.सं. २०४६ देखि हालसम्म विश्वका कूल ८७ देशका जम्मा ३ हजार ५ सय ७८ उद्योगले लगानीका लागि स्वीकृति प्राप्त गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी लगानी भारतीय उद्योगको छ ।

विदेशी उद्योगको जम्मा लगानी १ खर्ब ९२ अर्ब ९४ करोड ९० लाख छ भने उक्त लगानीबाट २ लाख १४ हजार १ सय २१ रोजगारी सिर्जना भएको अनुमान छ ।

विदेशी उद्योगलाई प्रोत्साहन गर्न दर्ता प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले विभागले निकट भविष्यमै विज्ञमार्फत निःशुल्क परामर्श सेवा दिन डेस्क स्थापना गर्ने विभागका निर्देशक एवम् प्रवक्ता रुद्रबहादुर मल्लले जानकारी दिए ।

उद्योग दर्ता प्रक्रियामा सहजताका लागि विभागले एकद्वार नीति बनाएर काम अघि बढाए पनि अन्य सरकारी निकायसँगको समन्वयको अभावमा त्यसमा भने काम अघि बढेको देखिँदैन । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर