newskoseli.Com

राजनीतिक लडाइँ सकियो : गृहमन्त्री बस्नेत

नेकपा (माओवादी केन्द्र) का नेता एवम् गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताबाट चुनिएका प्रतिनिधहरूमार्फत नयाँ संविधान जारी भएपछि राजनीतिक लडाइँ सकिएको बताएका छन् ।

बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कोहलपुर नगर विकास समितिले उपलब्ध गराएको भवनमा इलाका प्रशासन कार्यालयको बिहीबार उद्घाटन गर्दै बस्नेतले सो कुरा बताएका हुन् । नागरिकको घरदैलोमा सेवा उपलब्ध गराउनु सरकारको पहिलो प्राथमिकताको विषय भएको बताउँदै इलाका प्रशासन कार्यालयले त्यसनिम्ति महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिकल्पना गरेको स्थानीय संरचना गाउँ तहसम्म विस्तार गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि बताए । गृहमन्त्री बस्नेतले संविधानले कसैलाई पनि विभेद नगरेको स्पष्ट पार्दै भने– “सरकारले बजेटमार्फत ल्याएको नीति तथा कार्यक्रम जनमुखी र विकासमुखी छ । यसमा कसैले रुवाबासी गर्नुपर्ने आवश्यकता छैन ।”

इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि कोहलपुर नगरपालिका र आसपासका सात गाविसका नागरिक नागरिकता, राहदानीलगायत प्रशासनिक कामका लागि नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।

कोहलपुर क्षेत्रअन्तर्गत महादेवपुरी, चिसापानी, कचनापुर, नौबस्ता, खासकुस्मा, वनकटुवा र शमशेरगन्ज गाविसका करिब २ लाख मानिस इलाका प्रशासन कार्यालयको सेवाबाट लाभान्वित हुने विश्वास गरिएको छ ।

सो इलाका प्रशासन कार्यालयका लागि हाल १ शाखा अधिकृत, २ नायब सुब्बा, १ सहलेखापाल, १ कम्प्युटर सहायक र २ कार्यालय सहयोगीको व्यवस्था गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर