newskoseli.Com

१ लाख ७१ हजार घरधनीले अनुदान पाउने

१ लाख ७१ हजार ६ सय ७७ घरधनीलाे तत्काल अनुदान पाउने भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिलो किस्ताको अनुदान बैंकमार्फत वितरण गर्न सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन दिएकाले उनीहरूले साे अनुदान पाउने भएका हुन् ।

प्राधिकरणले मन्त्रालयअन्तर्गत रहेको केन्द्रीय आयोजना कार्यान्वयन इकाइलाई बिहीबार निर्देशन दिएको प्रवक्ता रामप्रसाद थपलियाले राससलाई जानकारी दिए ।

“प्राधिकरणले जेठ १४ गते नेपाल बैंकर्स एसोसियसन, डेभलपमेन्ट बैंकर्स एसोसियसन र नेपाल फाइनान्सियल इन्स्टिच्युसन एसोसियसनसँग गरेको समझदारीअनुसार इकाइलाई जिल्ला विकास समितिमार्फत सेवा प्रदायक बैंकसँग समन्वय गरी अनुदान वितरणको काम अघि बढाउन निर्देशन दिएको हो”– उनले भने ।

प्राधिकरण र ३ वटा बैंकर्स एसोसिएसनबीच भएको सम्झौताअनुसार अनुदान रकम वितरणका लागि ५३ बैंकसँग सम्झौता भएको उनले बताए । अनुदान वितरणका लागि प्राधिकरणले मन्त्रालयको कार्यान्वयन इकाइलाई १२ अर्ब ४४ करोड ६८ हजार रूपैयाँ निकासा गरेको छ । इकाइमार्फत ११ जिल्ला विकास समितिलाई वैशाख २६ गते रकम निकासा गरिएको जनाइएको छ ।

इकाइले चैत २५ गतेसम्म अनुदान पाउने सूचीमा परेका ६४ हजार ३ सय २० घरधनीसँग सम्झौता भइसकेको जनाएको छ । भूकम्प अतिप्रभावित उपत्यका बाहिरका सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, मकवानपुर, गोरखा, धादिङ, नुवाकोट र रसुवामा केन्द्रीय तथ्याङ्क विभागले लगत सङ्कलन गरेको थियो ।

विभागले ११ जिल्लामा गरेको ७ लाख १७ हजार ७ सय १८ घरधनीको लगत सङ्कलनमध्ये प्राधिकरणले ५ लाख ३३ हजार ४ सय ५४ ले अनुदान पाउने सूची प्रकाशन गरेको छ । १ लाख ८४ हजार २ सय ६४ घरधनीको नाम क्षतिको मापदण्डभित्र नपरेकाले अनुदान पाउनेको सूचीमा नराखिएको प्रवक्ता थपलियाले बताए ।

विभागले सर्वेक्षणका क्रममा घरको क्षतिको मात्रालाई हेरेर १, २, ३, ४ र ५ तहमा राखेर क्षतिको स्तर मापन गरेको निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए । ३, ४ र ५ तहमा परी क्षति पुगेका घरलाई प्राधिकरणले अनुदान दिने व्यवस्था छ ।

क्षतिको १ र २ सूचीमा परेका घरको मर्मत गरी बस्न सकिने भएकाले सूचीमा समावेश नगरिएको प्रवक्ता थपलियाले बताए । पर्नुपर्ने घरधनी सूचीमा नपरे उजुरी गर्न सकिन्छ । २८ हजारभन्दा बढी घरधनीले हालसम्म उजुरी गरेको प्राधिकरणको भनाइ छ । वास्तविक पीडित ठहरिएमा पूरै अनुदान पाउनेछन् ।

अनुदान पाउने सूचीमा नपर्नुपर्ने घरधनीको नाम पारी झुठो विवरण पेस गरी रकम लिएको पाइएमा प्रचलित कानुनबमोजिम सरकारी बाँकीसरह असुल उपर गरिने प्रवक्ता थपलियाले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर