newskoseli.Com

कस्तो छ बाबुरामको पार्टी घोषणा गर्ने मञ्चको तयारी ?

नयाँ शक्ति नेपालको पार्टी घोषणा राष्ट्रिय भेलामा नेता–कार्यकर्ताका लागि छुट्टै मञ्च नबनाइने भएको छ । जेठ ३० गते काठमाडौंको दशरथ रंगशालामा आयोजना गरिने पार्टी घोषणा राष्ट्रिय भेलामा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई छुट्टै मञ्चको व्यवस्थापन नगरिने नयाँ शक्ति अन्तरिम केन्द्रीय परिषदका सचिवालय सदस्य तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक कुमार पौडेलले जानकारी दिएका छन् ।

‘हाम्रो मञ्च व्यवस्थापन परम्परागत हुँदैन, पार्टीका नेतालाई मञ्च र कार्यकर्तालाई चौरमा राख्ने अभ्यासको विकल्पमा हामीले मञ्च व्यवस्थापन गरिरहेका छौं’, संयोजक पौडलले भने– ‘हाम्रा सबै सचिवालय सदस्य र केन्द्रीय सदस्यहरु संस्थापक सदस्यहरुसँग चौरमा सँगसँगै बस्नुहुन्छ ।’

नयाँ शक्तिका नेता र कार्यकर्तालाई छुट्टाछुट्टै आसनग्रहणको व्यवस्था नभएको उनले जानकारी दिए । ‘तर अन्य पार्टीका नेताहरु, भाइचारा, अन्य अतिथिहरु र सञ्चारकर्मीहरुका लागि मञ्चको व्यवस्थापन गर्ने तयारी गरेका छौं,’ उनले भने । सबै अतिथिहरुको मञ्च समेत दर्शकदीर्घापट्टि नै र मुख्य मञ्चमा उद्घोषक मात्र रहने व्यवस्था गरिएको उनले बताए ।

पौडेलले परम्परागत ढंगले रिबन काटेर, बेलुन उडाएर उद्घाटन गर्ने कार्यक्रम नरहेको र संस्थापक सदस्यहरुले सामूहिक शपथ ग्रहण गरेर कार्यक्रम अगाडि बढाइने समेत बताए । रंगशालाको संवेदनशीलतालाई ध्यानमा राख्दै मञ्च नै बाहिरैबाट फिट गरेर ल्याइने तयारी गरिएको उनले बताए ।

Rangashala_Jestha_30‘रंगशालालाई चलाउन, खन्न र खोस्रन नपाइने हुनाले बाहिरैबाट फिट गरेको मञ्च ल्याउँछौं’, पौडेलले भने– ‘भूकम्पपछि रेड स्टिकर टाँसिएकाले प्याराफिटको प्रयोग गरिँदैन, सबै जना चौरमा बस्ने व्यवस्था छ ।’

रंगशालाको पूर्वी गेटबाट अतिथि र दक्षिण गेटबाट सर्वसाधारण प्रवेशको व्यवस्था गरिएको अनि सुरक्षाका लागि सबै प्रवेशद्वार खुला राख्ने व्यवस्था गरिएको संयोजक पौडेलले जानकारी दिए । रंगशालामा खानेपानी, स्वास्थ्य डेस्क, डस्टबिनहरु, शौचालयलगायतको व्यवस्था गरिएको पनि उनले बताए ।

सहभागीहरुको सुविधाका लागि मञ्चसँग र मञ्चको दायाँ–बायाँ गरी तीन वटा ठूला एलईडी स्क्रिन र मूल गेटअगाडि पनि एलईडी स्क्रिनमा कार्यक्रम प्रत्यक्ष प्रसारणको व्यवस्था गरिएको मञ्च व्यवस्थापन गरिरहेको क्याप्टेन आउटडोर प्रा.लि. का अनिल थमनले जानकारी दिए । हरेक डिस्प्लेमा कार्यक्रम सम्बन्धी सम्पूर्ण जानकारी पनि प्रसारण गरिने व्यवस्था गरिएको उनले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर