newskoseli.Com

शव ल्याएपछि विमानस्थल शोकाकुल

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।

आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट बुधबार दिउँसो २ बजे ४० मिनेटमा काठमाडौँ ल्याइएको हो । विमानमा अन्य २४ नेपाली कामदार पनि स्वेच्छाले नेपाल फर्केका छन् ।

शव ल्याएको विमान आइपुग्ने सूचनाअघि नै विमानस्थलमा मृतकका शोकाकुल परिवार र आफन्तजनको घुइँचो थियो । कतिपय मृतकका परिवार स–साना बाल—बच्चासहित विमानस्थल पुगेका थिए । शव राखेको १२ बाकस (कफिन) देखेसँगै परिवारजन मात्र होइन आफन्त र शुभेच्छुकका पनि आँखा  आँसुले भरिएका देखिन्थे ।

विमान अाइपुग्ने समयसँगै काठमाडौँमा अविरल झरी परेको थियो । लाग्थ्यो आकाश पनि रोइरहेको छ । विमानस्थलमा मृतकका परिवारजन, आफन्त, शुभेच्छुक मात्र होइन सञ्चारकर्मी, सुरक्षाकर्मी र अन्य सरकारी अधिकारीसमेत वर्षामा रुझ्दै पुगेका थिए । शवमा फूलमालाले श्रद्धाञ्जलि अर्पण गरेपछि परिवारजनलाई शव बुझाइएको थियो । गृह मन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाका अनुसार सरकारले मृतक परिवारको इच्छाअनुसार सम्बन्धित जिल्लामा शव पठाउने प्रबन्ध मिलाएको छ।

शव सम्बन्धित जिल्लामा पुर्याउन मन्त्रालयले सुरुमा हेलिकप्टरको व्यवस्था गरे पनि खराब मौसमका कारण तत्काल सम्भव भएन ।शव बाहन पनि तयारी अवस्थामा राखिएकाे िथयाे। अन्ततः मौसम सफा भएपछि शव हेलिकप्टरबाटै पठाइएको छ । विमानमा ल्याइएका मृतकका झोला मन्त्रालयले पहिचान गरेर जिम्मा लगाइने जनाएको छ ।

मृतक १२ मध्ये चार जनाको काठमाडौँमा र बाँकीको सम्बन्धित जिल्लामा दाहसंस्कार गरिने बताइएको छ । सरकारले आक्रमणमा परी घाइते भएका पाँच जनालाई थप उपचारका लागि भारतको नयाँदिल्ली लगिएको र दुई जनाको उपचार काबुलमै भइरहेको जनाएको छ ।

अफगानिस्तानको सो घटनापछि काम छाडेर स्वइच्छाले उक्त विमानमा आज स्वदेश फर्केका २४ जना अन्य नेपाली सबैको चासोको केन्द्र बनेका थिए । सँगैका साथी गुमाएर त्रासको मानसिकतामा देखिएका उनीहरु विशेषगरी सञ्चारकर्मीको जिज्ञासा मेट्ने स्रोत बनेका थिए । अफगानिस्तानस्थित क्यानाडेली दूतावासमा सुरक्षाका लागि खटिएका १४७ जना नेपाली बेलायती कम्पनी साइबरमा कार्यरत थिए । अन्य कम्पनीको तुलनामा सो कम्पनीले सुरक्षा व्यवस्थामा कम ध्यान दिएको अफगानिस्तानबाट आज स्वदेश फर्केकामध्येका एक इटहरी निवासी वीरबहादुर खत्रीको भनाइ छ ।

“त्यहाँ रहेका नेपालीमा त्रासको वातावरण छ, अन्य साथीहरु पनि नेपाल फर्कन चाहन्छन्”– खत्रीले भने । उक्त कम्पनीमा कार्यरत नेपाली क्यानाडेली दूतावासमा खटिएका क्यानाडेली सुरक्षाकर्मीको बाहिरी घेरामा सुरक्षा गार्डका रुपमा काम गर्दै आएको उनीहरुले जानकारी गराएका छन् ।

शव आज स्वदेश ल्याएपछि त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कामको सिलसिलामा अफगानिस्तान गएका निर्दाेष नेपालीको हत्या कायरता र अमानवीय भएकाे बताए।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर