कुनै पनि व्यक्तिलाई दैनिक आवश्यकता परिपूर्तिका लागि रोजगारीको आवश्यकता पर्दछ । मानिसले रोजगारी पनि सकेसम्म आफ्नै गाउँघर वा सहरमा चाहन्छ, नभए आफ्नै देशको कुनै ठाउँमा जहाँ या त परिवारसँग बस्न पाइयोस् वा बेलामौकामा सजिलै घरपरिवारलाई भेट्न पाइयोस् अनि अाफ्नै समाजमा बसेर काम गर्न पाइयोस् । तर, नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा लाखौं युवाहरू रोजगारीका लागि विदेशिनु परेको अवस्था छ ।
अनौपचारिक तथ्याङ्कहरूले रोजगारीका लागि विदेशिने नेपाली युवाको संख्या पचास लाखभन्दा माथि रहेको आँकडा सार्वजनिक गरिरहेका छन् । यसमध्ये न्यून संख्यामा मात्र दक्ष कामदारका रूपमा गएका छन् । अझ प्रोफेसनल वा विशेषज्ञ स्तरमा विदेशमा रहेका नेपालीको संख्या निकै कम छ । दक्ष कामदार वा इन्जिनियर, डाक्टरजस्ता प्रोफेसनल सेवामा काम गर्न विदेशिएकाहरूले परिवारलाई (श्रीमती छोरा–छोरी) समेत लिएर जाने र सँगै राख्ने अवस्था छ । तर, अदक्ष कामदारका रूपमा भारत, खाडी मुलुकलगायतका ठाउँमा जानेहरूले आफूसँग परिवार लैजाने व्यवस्था र अवस्था दुवै छैन ।
राज्यको ध्यान स्वदेशमा रोजगारी सिर्जना गर्नुभन्दा वैदेशिक रोजगारी प्रवर्द्धनमा केन्द्रित छ । मानौं राज्यको उद्धेश्य नै भाडाका कामदार उत्पादन गर्ने देशका रूपमा नेपाललाई परिचित गराउनु हो । सामान्य रूपमा हेर्दा वैदेशिक रोजगारीले समाज समृद्ध हुँदै गएको प्रतीत हुन्छ, तर यस्तो ‘समृद्धि’ ले आफूसँगै ल्याएको नकारात्मक पक्ष पनि विचार गर्नु आवश्यक छ ।
राज्यको ध्यान स्वदेशमा रोजगारी सिर्जना गर्नुभन्दा वैदेशिक रोजगारी प्रवर्द्धनमा केन्द्रित छ । मानौं राज्यको उद्धेश्य नै भाडाका कामदार उत्पादन गर्ने देशका रूपमा नेपाललाई परिचित गराउनु हो ।
देशमा रोजगारीको अवस्था नरहेका कारण विदेशिएका नेपाली कामदारहरूले विदेशबाट कमाएर पठाएको या ल्याएको रेमिट्यान्सले केही हदसम्म आम जीवनमा उज्यालो ल्याएको प्रतीत हुन्छ । माटो वा खरका घरहरू पक्की घरमा परिणत हुँदै गएका छन्, घरमा एलईडी टिभी, परिवारका सदस्यका हातहातमा मोबाइल फोन, इत्यादिको उपलब्धता बढेको छ । खानपान, लत्ताकपडाको स्तरमा समेत सुधार आएको छ । अधिकांश विदेशिएकाहरूले केही जग्गा–जमिन, घडेरी पनि जोडेका छन् ।
समग्रमा रोजगारीका लागि विदेशिएका नेपालीको पारिवारिक जीवनस्तरमा पक्कै सुधार आएको अनुभूति जो–कोहीले गरेका छन् । विदेशिएकाहरूको आर्थिक अवस्थामा देखिएको सुधारबाट प्रभावित युवाहरू नेपालमा भएको अवसरलाई पनि बेवास्ता गर्दै विदेश जान कसिएको अवस्था पनि विद्यमान छ । केही विदेशिएका युवाले स्वदेश फर्केर विदेशमा कमाएको पैसा लगानी गरी आ–आफ्नै राम्रा व्यवसायहरू पनि सञ्चालन गरेका छन् । तर, यस्ता युवाको संख्या नगन्य छ ।
अधिकांश युवाले विदेशमा कमाएको पैसा घडेरी–जग्गा खरिद, पक्की घर बनाउन र विदेश जाँदा साहुबाट लिएको ऋण तिर्न खर्चिन्छन् अनि बाँकी पैसा मोटरसाइकल, मोबाइल र टिभीमा खर्चिन्छन् । फेरि विदेश जानु अगाडि साहुसँग चर्को ब्याजमा ऋण लिनु विदेशबाट नेपाल फर्केकाहरूको नियति नै बनेको छ ।
वैदेशिक रोजगारीले राज्यको बेरोजगारी चिन्तालाई मात्र कम गरेको छैन, अधिकांश निम्न वर्ग र निम्नमध्यम वर्गका नेपालीको जीवनस्तर र आर्थिक अवस्थामा सुधार ल्याइदिएको छ । वैदेशिक रोजगारीले परिवार, समाज र देशमा उज्यालो मात्र ल्याएको छैन । वैदेशिक रोजगारीका कतिपय नकारात्मक पक्ष पनि छन् । वैदेशिक रोजगारीका अँध्यारा पक्षहरू पनि छन् । रेमिट्यान्सले ल्याएको खुशीका पछाडि विदेशमा काम गर्ने नेपालीको ठूलो दुःख र पीडा लुकेको छ ।
छोरा–छोरीसँग पनि बाबु–आमाको सम्बन्ध भावनात्मकभन्दा पनि पैसा दिने व्यक्तिका रूपमा प्राविधिक बन्दै गइरहेको छ ।
आफ्नो घरपरिवार, समाज र देशबाट टाढा रहेर काम गर्नु आफैंमा कम पीडादायी छैन । त्यसमा पनि अधिकांश नेपालीले खाडी मुलुकमा निकै प्रतिकूल अवस्था (एक्स्ट्रिम कन्डिसन) मा काम गर्नु परिरहेको छ । जोखिम मोलेर कमाएको पैसाले घरपरिवार चलाउनेदेखि सम्पत्ति आर्जन समेत गर्नु परेको छ । वर्षौंसम्म घरपरिवारसँग भेटघाट नहुँदा हुने पीडा र एक्लोपनको अनुभूति आफ्ना ठाउँमा छँदैछ ।
लामो समय घरपरिवारबाट टाढा रहँदा आपसी लगाव कम हुने र पारिवारिक घनिष्टता (बन्ड) समेत कमजोर हुँदै जाने अवस्था सिर्जना भइरहेको छ । यसबाट सम्बन्ध–विच्छेदका घटना र अझ विदेशबाट फर्किँदा श्रीमती नै अरूसित घरजम गरिसकेका अवस्थाहरू समेत पटकपटक प्रकाशमा आउने गरेका छन् । त्यति मात्र होइन, छोरा–छोरीसँग पनि बाबु–आमाको सम्बन्ध भावनात्मकभन्दा पनि पैसा दिने व्यक्तिका रूपमा प्राविधिक बन्दै गइरहेको छ ।
अझ विवाह गरेर श्रीमती भित्र्याएको केही हप्ता वा महिनामै रोजगारीका लागि विदेश जाने प्रचलन र बाध्यताले श्रीमान्–श्रीमतीको बीचमा भावनात्मक सम्बन्ध वा लगाव नै राम्रोसँग बन्न पाउँदैन । अर्कोतर्फ विवाह भएको केही समयमै वर्षाैंका लागि बिछोडिनु परेपछि त्यसले अर्को नकारात्मक प्रभाव निम्त्याउँछ ।
युवा तथा अपरिपक्व उमेर र श्रीमान्–श्रीमतीबीच भावनात्मक सम्बन्ध विकास हुन नसकेका कारण विकल्पको खोजी गर्ने अवस्थाहरू समेत थुप्रै देखापरेका छन् । यसले सामाजिक विकृतिहरू समेत निम्तिइरहेका छन्, जसका कारण विदेशमा कमाउन गएको व्यक्ति स्वदेश फर्कंदा उसँग न कमाएको सम्पत्ति न त परिवार बाँकी रहने कतिपय घटना चर्चामा आएका छन् ।
युवा तथा अपरिपक्व उमेर र श्रीमान्–श्रीमतीबीच भावनात्मक सम्बन्ध विकास हुन नसकेका कारण विकल्पको खोजी गर्ने अवस्थाहरू समेत थुप्रै देखापरेका छन् । यसले सामाजिक विकृतिहरू समेत निम्तिइरहेका छन्, जसका कारण विदेशमा कमाउन गएको व्यक्ति स्वदेश फर्कंदा उसँग न कमाएको सम्पत्ति न त परिवार बाँकी रहने कतिपय घटना चर्चामा आएका छन् ।
वैदेशिक रोजगारीबाट आएको पैसाबाट सुखीजस्तो देखिने घरपरिवारको आफ्नै पीडा छ । पैसाले भौतिक सुख–सुविधा त ल्याएको छ तर आफन्तलाई टाढा बनाएकोे छ । केटाकेटीले बाबुबाट पाउने प्रत्यक्ष माया र ममताको अनुभूति गर्न नपाएको अवस्था छ । यसबाट बालमनमा बाबुसँग हुनुपर्ने लगाव वा प्रेमको भावना कमजोर हुन्छ । अरूका बावुले गरेको माया देख्दा विदेशिएकाका बालबच्चाको मनमा स्वाभाविक रूपमा पीडा हुन्छ नै, उसले आफूलाई कमजोर महशुस गर्छ । त्यस्तै बाबु–आमाले बुढेसकालमा छोराछोरीको सामिप्यता खोज्ने र सेवा चाहिने बेला छोराहरू साथमा नरहँदा वृद्ध–वृद्धाको मनमा हुने पीडा पनि आफ्नै ठाउँमा छ । अर्कोतर्फ विदेशिएकाले पनि बा–आमाको स्याहार गर्न नपाउँदा मन दुख्छ नै ।
वैदेशिक रोजगारीका लागि गएकाहरूको घरमा रहेकी पत्नीको अवस्था अझ दुःखदायी छ । श्रीमानसँग वर्षौं टाढा बस्नुपर्ने बाध्यता त छँदैछ, उसैमाथि केही पर्दा कोसँग सहयोग माग्ने भन्ने समेत समस्या छ । अर्कोतर्फ एक्ली महिलालाई हाम्रो समाजमा गिद्धेदृष्टि लगाउनेहरूको पनि कमी छैन । एक्ली महिलाले घरबाहिर मात्र होइन, घरभित्र पनि विभिन्न किसिमका यातना र तनाव सहनुपर्ने अवस्था छ ।
यौनउत्पीडनको प्रयत्न गर्नेले त्यस्ता हर्कतको विरोध गर्दा विदेशमा रहेका श्रीमानलाई कुरा लगाइदिने धम्की दिने गरेका विभिन्न घटना समेत प्रकाशमा आएका छन् । कतिपय अवस्थामा यस्ता धम्की दिने र यौनउत्पीडन गर्नेमा परिवारकै पुरूष पात्रहरू समेत रहने गरेको पाइएका छन् । त्यति मात्र होइन, विदेशबाट फर्किएका श्रीमानले बात लगाइएकी वा शंकाको भरमा पत्नीमाथि अविश्वास गरी सम्बन्ध–विच्छेद गरेका घटना समेत थुप्रै देखिएका छन् ।
यौनउत्पीडनको प्रयत्न गर्नेले त्यस्ता हर्कतको विरोध गर्दा विदेशमा रहेका श्रीमानलाई कुरा लगाइदिने धम्की दिने गरेका विभिन्न घटना समेत प्रकाशमा आएका छन् । कतिपय अवस्थामा यस्ता धम्की दिने र यौनउत्पीडन गर्नेमा परिवारकै पुरूष पात्रहरू समेत रहने गरेको पाइएका छन् । त्यति मात्र होइन, विदेशबाट फर्किएका श्रीमानले बात लगाइएकी वा शंकाको भरमा पत्नीमाथि अविश्वास गरी सम्बन्ध–विच्छेद गरेका घटना समेत थुप्रै देखिएका छन् ।
रोजगारीका लागि विदेश जानु नेपाली युवाको बाध्यता हो । वैदेशिक रोजगारीले केही समृद्धि ल्याए पनि यसले समाजमा ल्याएका नकारात्मक असरप्रति सचेत हुनु अत्यावश्यक छ । वैदेशिक रोजगारीमा जानेले पनि सधैंका लागि वैदेशिक रोजगारीलाई नै आफ्नो नियति बनाउनुभन्दा एक पटक विदेशबाट कमाएर ल्याएको पैसाले घर–जग्गा र सोखका साधन जुटाउनुभन्दा पनि स्वरोजगारीको व्यवस्था गरेर नेपालमै बस्नेतर्फ ध्यान दिनुपर्छ ।
अर्कोतर्फ राज्यले देशमा उद्योग–धन्दाको विकास हुने वातावरण बनाई वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्नुपर्दछ । विदेश जानेले पनि राम्रो तलब प्राप्त गर्ने र परिवार समेत विदेशमा गएर बस्न सक्ने अवस्थाको सिर्जना गर्न दक्ष कामदार उत्पादनमा जोड दिनुपर्दछ । अन्यथा, वैदेशिक रेमिट्यान्सले ल्याएको ‘समृद्धि’ ले समाजिक व्यवस्थालाई जर्जर बनाउँदै लैजाने पक्का छ ।
(तराई–मधेश सद्भावना पार्टी नेपालकी उपाध्यक्ष तिवारीको यो आलेख मधेश दर्पण फिचर सेवाबाट प्रस्तुत गरिएको हो ।)