मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक १ लाख बढी आम्दानी गरिरहेका छन् ।
जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिनुभएका जिसीले सहकारीबाट ३ लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका छन् । उनले विसं २०६४ मा ५ लाखबाट सुरु गरेको फार्ममा अहिले १५ लाख बराबरको लगानी रहेको छ । हाल फार्ममा १८ होलस्टिन र जर्सी जातको माउ गाई रहेका छन् ।
दैनिक १०० देखि १५० लिटरसम्म दूध बिक्री गर्दै आएका जिसीले २ जनालाई रोजगारी समेत प्रदान गरेकाछन् । उनले दूध बिक्री गरेको कमाइले २५ लाखमा पक्की घर तथा १० लाखमा २ रोपनी जग्गा जोडेका छन् । विभिन्न सहकारी तथा बैंकमा ८ लाख बढी रकम बचत गरेका छन् ।
“कमाउन नसक्दा बाआमाले घरनिकाला गरे,” उनले भने – “व्यवसाय गर्न धेरैसँग ऋण मागे, कसैले विश्वास गरेनन्, अन्तिममा सहकारीबाट ऋण झिकेर व्यवसाय सुरु गरे ।” आफ्नै मेहनत र जाँगरले उनि अहिले सफल व्यवसायी बनेका छन् ।
जिल्ला पशुसेवा कार्यालयको मदनपोखरास्थित पशु सेवा केन्द्रका प्राविधिक शेरबहादुर रानाले गत वर्ष युवालक्षित कार्यक्रमअन्तर्गत कृषक जिसीलाई १ लाख तथा चापकटर मेसिन र घाँसका बीउ उपलब्ध गराएको बताए ।