
लामो समयदेखि चीन र अमेरिकाबीच अघोषित रुपले ‘ट्रेड वार’ चलिरहेका बेला नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस सम्बन्धमा के–कस्तो नीति लिने हुन् भन्ने सर्वत्र जिज्ञासा र चासो छ । यही सन्दर्भमा अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार चीनसँग व्यापार सम्झौता ‘सम्भव’ रहेको बताएका छन् ।
सन् २०२० मा अमेरिकाले चीनसँग ठूलो व्यापार सम्झौता गर्न सहमति जनाइसकेको र नयाँ सम्झौता सम्भव भएको ट्रम्पले बताए । आफ्नो दोस्रो कार्यकाल सुरु भएको एक महिनापछि ट्रम्पले चीन, छिमेकी क्यानडा, मेक्सिको र युरोपेली सङ्घलाई लक्षित गर्दै सहयोगी र प्रतिद्वन्द्वीमाथि व्यापक कर लगाउने चेतावनी दिए ।
चीनबाट आयात हुने सबै उत्पादनमा फेब्रुअरीको सुरुमै उनले १० प्रतिशत थप भन्सार शुल्क लगाइसकेका छन् । सबै आयातीत कारहरूमा २५ प्रतिशत कर लगाउने र औषधी तथा ‘सेमीकन्डक्टर’ मा समान वा उच्च शुल्क लगाउने चेतावनी पनि उनले दिइरहेका छन् ।
ट्रम्पले सुरुमा सबै क्यानेडियाली र मेक्सिकोली आयातमा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए । तर, निर्णय लागू हुनुभन्दा केही घन्टा अघि उक्त निर्णय थाती राख्दै मार्च १ सम्म त्यो निर्णय कार्यान्वयनमा नलाने बताएका थिए । विदेशबाट आयात हुने स्टील र आल्मुनियममा २५ प्रतिशत थप कर लगाउने कार्यकारी आदेशमा गत साता उनले हस्ताक्षर गरेका न् ।