नवलपरासी रजहरका यज्ञप्रसाद सुवेदी ‘लक्ष्मण’ चितवनको खैरहनीस्थित चैनपुरमा केराको थम्बा काटेर घरी निकाल्दैछन् । घरी बोकेर गाडीसम्म लैजाने काममा व्यस्त छिन् उनकी श्रीमती जानकी । दुई बगानमा एकैचोटि केरा निकाल्नुपर्दा यो दम्पती बाँडिएर काम गर्छ नत्र भने सँगसँगै व्यवसाय गर्छन् उनीहरु । हरेक काममा पालैपालो श्रीमान्–श्रीमती खटिन्छन् । पन्ध्र जना काम गर्नेहरु पनि राखिएका छन् ।
चैनपुरमा २० बिगाहा जमिनमा लगाइएको केराबाट एक गाडी (पिकअप भ्यान भरि) केरा निस्कियो । काटेको केरा उनीहरुले तत्कालै बुटवल पठाए । “चितवनसँगै काठमाडौं, पोखरा, दाङ सबैतिर केरा जान्छ”, सुवेदीले भने– मागअनुसार यसरी केरा निकाल्दै पठाउँदै गर्छौं ।”
माग आएपछि केरा काटिन्छ । याममा तीन–चार गाडीसम्म निस्कन्छ । एक गाडी पिकअफ बोलेरोमा पठाइएको केराबाट १ लाख रूपैयाँसम्म मूल्य आउँछ । चितवनसहित बुटवल, दाङ, पोखरा र काठमाडाैं केराको मुख्य बजार हो ।
“काम गर्दै गयो भने सफल अवश्य भइन्छ, आफ्नो लगनशीलताले सफलता मिल्छ भन्ने विश्वास छ, मिलेर ग¥यो भने सबै कुरा पूरा हुन्छ” – केरा बोक्दै जानकीले भनिन् । केरामा मात्रै उनीहरुको अहिले झन्डै १ करोड २५ लाख रूपैयाँ लगानी छ । प्रतिबिगाहा २ लाख १२ हजारभन्दा बढी लगानी लाग्छ । सत्र वर्षअघि दुई बिगाहाबाट खेती सुरु गरेको यो जोडीले अहिले ५५ बिगाहामा खेती गरेको छ ।
बिक्री बजारअनुसार तलमाथि हुन्छ । अहिले कोसाको ३ रुपैयाँ ५० पैसा पर्छ । किलोमा लैजाँदा ३५ रूपैयाँ छ । “त्यही हो वार्षिक २ करोड रूपैयाँ बराबरको कारोबार हुन्छ”, यज्ञ सुवेदी भन्छन्– “चित्त बुझ्दो फाइदा छ भनौं ।”
सुरुमा ३ लाख रूपैयाँ लगाएर दुई बिगाहाबाट खेती सुरु गरेकोमा अहिले ५५ बिगाहा पुग्दा खुसी छन् उनीहरु । त्यसबेला २ हजार ८ सय बोट थिए, अहिले ८० हजार बोट छन् । प्रतिबिगाहा १ हजार ४ सय बोट केरा लगाइन्छ, एउटा बोट तयार पार्न २ सय १२ रूपैयाँ लगानी पर्दोरहेछ ।
यसरी सुरु भयो केराखेती
२०५७ फागुन १६ मा घर छाड्ने र घर नबिर्सने कसम खाएर निस्के यज्ञ सुवेदी । सुरुको अवस्थामा व्यवसाय गर्न घर छाडेर टाढा हुन गाह्रै हुने । त्यसकारण आर्थिक अवस्था साह्रै दयनीय नभए पनि नयाँ ठाउँमा कसैले ऋण नपत्याउने भएपछि भएजतिको गहना बेचेर सुरु गरिएको थियो व्यवसाय । श्रीमती जानकीले पनि सहजै स्विकारिन् । त्यस बेला दुई बिगाहाबाट उनले केरा खेती सुरु गरेका थिए । २०६६ मा उनले २० बिगाहामा पुर्याए केरा खेती, अहिले ५५ बिगाहा छ ।
सुरुमा बुबा जीवलालले केही केरा खेती गरेका थिए । चितवनमा केरा खेती विकास गर्ने अगुवा अम्बिका अधिकारी समेतको प्रेरणाबाट खेती सुरु गरेको उनले बताए ।“सुरुमा त ऋण नै खोजेको हो, अपुग श्रीमतीका गहना– तिलहरी, सिक्री बेचेर व्यवसाय थालियो”, उनले थपे – “अहिले सन्तुष्ट छु ।”
केरा लगाउन कपिलवस्तु पनि पुगे उनी । अहिले पाँच स्थानमा केरा खेती छ । खैरहनीको चैनपुरमा मात्रै २० बिगाहामा केरा लगाइएको छ । अहिले यहाँ केराका २८ हजार बोट रोपिएका छन् । पदमपुरमा ७ बिगाहा र जगतपुरमा २० बिगाहा छ । ठिमुरामा पनि २० बिगाहाको सामूहिक खेती छ । चैनपुरमा मात्रै दैनिक एक ट्रिपमा ३ सय घरीसम्म केरा निस्कन्छ उनको । चैतदेखि असार–साउनसम्मै केरा निस्कन्छ । केरा रोपेको एक वर्षपछि बजारमा पठाउन सुरु हुन्छ ।
बीमाले उत्साहित व्यवसायी…
पहिले बीमा नहुँदा केरामा ठूलो क्षति हुन्थ्यो । बर्सेनि करोडौं क्षति व्यहोर्थे व्यवसायीले । बीमा सुरु भएपछि क्षतिको ९० प्रतिशत क्षतिपूर्ति आउने भएकाले उत्साहित छन् उनीहरु । यस वर्ष हावाहुरीले सुवेदीका १ हजार ५ सय बोट लडाएको छ । पहिले पूरै क्षति बेहोर्नुपर्थ्याे, अहिले बीमा भएकाले क्षतिपूर्ति आउने क्रममा छ ।
जिल्लामा रहेका ६ सय केरा किसानमध्ये २ सयले बीमा गरिसकेका छन् । धेरै पटक क्षतिबाट पीडित भए व्यवसायी, केही पलायन पनि भए । सरकारलाई बर्सेनि गुहार्नुपर्थ्यो । बीमा नहुँदा प्रतिबोट मोहर या एक रुपैयाँ आउन मुस्किल थियो । अहिले क्षतिको ९० प्रतिशत क्षतिपूर्ति पाइने भएकाले ढले पनि किसान ढुक्क हुने केरा व्यवसायी सङ्घ चितवनका अध्यक्ष विष्णुहरि पन्त बताउँछन् ।
तर पनि कृषि ऋण पाउन सकेका छैनन् उनीहरुले किनकि भाडामा खेती गर्नुपर्छ । बोट धितो राखेर ऋण दिइए अझै बढी काम गर्न सकिने व्यवसायीको तर्क छ । केही रोगको पहिचान नहुँदा समस्या पनि छ । बिरुवा यहींबाटै उत्पादन हुन्छ, नयाँ लगाइरहनुपर्ने झन्झट हुँदैन ।
केराखेतीको अवस्था
चितवनमा २०४७ देखि केराखेती सुरु भएको थियो । २०५१ मा केही फस्टाएको थियो । २०५७ बाट केही व्यावसायिक खेती सुरु भएकामा २०६२ देखि सङ्घ दर्ता भएर नै किसान व्यावसायिक केराखेतीमा लागेका हुन् ।
अहिले जिल्लामा उत्पादित केरामध्ये ४० प्रतिशत जिल्लामै र ६० प्रतिशत जिल्लाबाहिर खपत हुन्छ । भारतीय केरा भित्रिने गरेकाले सबैभन्दा ठूलो समस्या हुने गरेको किसानहरूको गुनासो छ । जिल्लामा वार्षिक १ अर्ब रूपैयाँको कारोबार हुँदै आएको सङ्घका अध्यक्ष विष्णुहरि पन्त बताउँछन् । ६ सयभन्दा बढी किसानले यहाँ २ हजार २ सयभन्दा बढी क्षेत्रमा केरा लगाएका छन् ।
अझै ६० प्रतिशत केरा भारतबाट आयात हुन्छ । सयमा सय नै यहाँ उत्पादन गर्नुपर्छ भनेर व्यवसायी लागिपरेका छन् । केही वर्षअघि उद्योग वाणिज्य सङ्घ चितवनले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत केराखेती विस्तार अभियान चलाएको थियो । त्यसले केराखेती विस्तारमा ठूलो सहयोग पुर्यायो । केराखेती विस्तारमा यो कार्यक्रम कोसेढुङ्गा सावित भएको सङ्घका कार्यकारी निर्देशक रसिक प्रधान दाबी गर्छन् ।