शान्ति प्रक्रिया पछिको अन्तरिम व्यवस्थापिका–संसदमा म पनि थिएँ । २०६४ सालमा संविधानसभाको चुनाव गर्ने निर्णय भएको थियो । तर, चुनाव गर्ने वातावरण बनेको छ कि छैन भनेर ‘जाँचबुझ र अनुगमन गर्ने समिति’ बनेको थियो । त्यसको सभापति पूर्णबहादुर खड्का (हालका उपप्रधान तथा रक्षामन्त्री) हुनुहुन्थ्यो । पूर्वाञ्चल क्षेत्रका १६ वटा जिल्ला त्यसको कार्यक्षेत्र थियो । म पनि उक्त समितिको सदस्य थिएँ ।
हामी सवै गरी १५–१६ जना थियौं । तर, फिल्डमा भने जम्मा ७–८ जना मात्रै गयौं । अरु सदस्यहरु जानुभएन, कारण थाहा भएन । फिल्डमा जाने टोलीमा सभामुख सुवास नेम्बाङ पनि हुनुहुन्थ्यो । कतै गाडीमा, कतै जहाजमा, कतै हेलिकप्टरमा चढेर त कतै पैदल हिँडेर हामीले यात्रा गर्यौं । सवैजसो जिल्लामा कार्यक्रमहरु भए । ती कार्यक्रमहरुमा मैले सुवास नेम्बाङको स्वभाव, मिलनसार व्यक्तित्व, उहाँकाे जनसम्बन्ध शैली, वक्तृत्वकला र नेतृत्वकलाबारे केही बुझ्ने अवसर पाएँ ।
यही सिलसिलामा हामी धनकुटाको हिलेमा पनि बस्यौं । खुब रमाइलो भयो । मैले जीवनमै पहिलो पटक तोङ्बा चाखेको त्यहीं नै हो । त्यसपछि इलामको सुन्तलाबारीस्थित नेम्बाङको घरमा बास बस्न पुगियो । कति राम्रो, चिटिक्कको घर ! सुन्तलाको बगैंचा, सुरम्य वातावरण । म लोभिएको थिएँ इलाम देखेर ।
‘अकबरे खुर्सानीको खेती गर्ने त माननीयजी ?’ नेम्बाङले मलाई जिस्क्याउनुभयो । मजा लाग्यो मलाई पनि ।
२०६४ मा सम्पन्न संविधानसभाको चुनावपछि गठन भएको पहिलो संविधानसभाको अध्यक्ष पनि उहाँ नै हुनुभयो । संविधान लेखन सजिलो होस् भनेर विभिन्न समितिहरु गठन भए । राज्य पुनर्संरचना समितिको सभापतिमा मलाई नियुक्त गरियो । संविधानसभा मातहतका समितिहरु ‘मिनी संविधानसभा’ को ओहोदा र मर्यादामा थिए ।
मेरो नेतृत्वमा रहेको समितिको काम धेरै नै जटिल एवम् पेचिलो थियो । पार्टीहरुका द्वैध चरित्रका कारण विषयको टुङ्गो लगाउन धेरै लठारो परिरहेको थियो; एकदमै ढिलो भइरहेको थियो । त्यस क्रममा मैले पार्टी अध्यक्ष प्रचण्ड, अन्य पार्टीका प्रमुख र संविधानसभाका अध्यक्षसँग समय–समयमा भेटघाट र छलफल गरिरहनु स्वाभाविकै थियो ।
हाम्रो समितिको प्रतिवेदन पूर्णरुपले तयार पार्नका लागि नरहरि आचार्य, मङ्गलसिद्धि मानन्धर, शङ्कर पोखरेल, विश्वभक्त दुलाल, हितमान शाक्य, गोपाल किराती, लक्की शेर्पा, जेपी गुप्ता, चन्द्रदेव जोशीलगायतका सदस्यहरुको राम्रो मेहनत, सहयोग र सहभागिता रह्यो । त्यस क्रममा संविधानसभाका अध्यक्ष सुवास नेम्बाङबाट अभिभावकीय भूमिका पाइयो ।
नेपालको सदन सञ्चालनका सन्दर्भमा दमननाथ ढुङ्गाना र सुवासचन्द्र नेम्बाङ नै हालसम्मकै अब्बल सभामुखका रुपमा परिचित हुनुहुन्छ । आफू निर्वाचित भएको पार्टीबाहेकका दलहरुलाई समेत समेट्न सक्ने, आगोको भुङ्ग्रोमा पनि खेल्न सक्ने; सहकार्य, समझदारी र सदासयतापूर्वक समस्याको समाधान गरेर सदन सुचारु गर्ने कला भने सुवासमा नै धेरै देखियो ।
नेताहरु वा सदस्यहरु जतिसुकै रिसाएर उहाँसमक्ष पुगे पनि मुसुक्क हाँसेर खुलस्त कुरा गर्ने अनि ठाउँमा ल्याउन सक्ने कला–क्षमताका धनी, फूलजस्तै कोमल र सुवासयुक्त तर इस्पातजस्तै दह्रा पनि हुनुहुन्थ्यो सुवास नेम्बाङ । आफ्ना कुराहरु नरम भाषाशैलीमा तर कडा रुपले राख्ने गर्नुहुन्थ्यो उहाँ । तर, उहाँभित्रको ‘कडापन’ धेरैले त थाहै पाउँदैनथे ।
उनै नेम्बाङको २६ भदौ, २०८० को सबेरै (राति साढे एक बजेतिर) दुःखद् निधन भयो । उहाँसँग अब कहिल्यै भेट र सहकार्य नहुने भएको छ । उहाँसँगका साथ–सङ्गत तथा अनुभूतिहरु धेरै छन्; त्यतातिर अहिले नलागौं । दिवङ्गत सुवास नेम्बाङप्रति हार्दिक श्रद्धासुमन ! शोकसन्तप्त परिवारजन तथा आफन्तजनमा गहिरो समवेदना !