newskoseli.Com

के हो लेटरग्रेडिङ प्रणाली ? यसले ल्याएकै हो त नजितामा सुधार ?

अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसर्इई) को नतिजाअनुसार गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् ।

विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेडसिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जीपीए) दिइने अक्षराङ्कन (लेटरग्रेडिङ) का कारण यो सुधार देखिएको हो । ‘अक्षराङ्कन’ (लेटरग्रेडिङ) भन्नाले तोकिएको सक्षमताको मूल्याङ्कनपश्चात् विद्यार्थीले हासिल गर्ने सिकाइस्तरलाई अक्षरमा गरिने प्रस्तुति मानिन्छ ।

शुक्रबार सार्वजनिक नतिजाअनुसार कूल ४ लाख ६२ हजार १ सय २६ परीक्षार्थी सहभागी भएकामा ४ लाख ४५ हजार ५ सय ६४ विद्यार्थी ‘डी’ (१ दशमलव ६) वा त्यसभन्दा माथि ग्रेड हासिल गरी माथिल्लो कक्षा पढ्न योग्य भएका छन् । गत वर्ष ‘डी’ (१ दशमलव ६) ग्रेडसम्म पाउने विद्यार्थीको सङ्ख्या ४ लाख २५ हजार ५ सय ८२ थियो । त्यस अघिका वर्षको तुलनामा त्यो पनि सुधार हो ।

SEE Result

नतिजा हेर्दा सुधार आएको मान्न सकिने तर माथिल्लो तहमा पढ्न योग्य विद्यार्थीको सिकाइस्तर आफैंमा कस्तो छ भनेर अलग्गै मापन गरेर मात्रै शिक्षाको समग्र गुणस्तरबारे विश्लेषण गर्नु उपयुक्त हुने शिक्षाविद् डा. विद्यानाथ कोइरालाले बताए । उनले भने– “ग्रेड पाउनु र सक्षम हुनु अलग हो । राष्ट्रिय योग्यता परीक्षा लिने प्रणाली भएमा सही मूल्याङ्कन हुन सक्ने थियो ।”

राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषदबाट २०७२ मङ्सिर २३ मा स्वीकृत भई सोही वर्षको चैत ६ मा पहिलो संशोधन गरी शिक्षामन्त्रीस्तरको निर्णयबाट ‘विद्यालय शिक्षामा अक्षराङ्कन पद्धति, कार्यान्वयन कार्यविधि, २०७२’ लागू भएको थियो । दुई विषयभन्दा बढी विषयमा ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले आफूले चाहेका विषयमा पुनः मूल्याङ्कन गराउन चाहेमा पूरक परीक्षामा सहभागी हुन पाउनेछन् । यसरी मूल्याङ्कन गराउँदा प्राप्त ग्रेड समावेश गरी प्रमाणपत्र तथा लब्धाङ्कपत्र दिइनेछ ।

ग्रेड निर्धारण तालिका

९० र सोभन्दा माथि ‘ए प्लस’– ४.० (अति उत्तम)
८० र सोभन्दा माथि (९० भन्दा कम) ‘ए’– ३.६ (उत्तम )
७० र सोभन्दा माथि (८० भन्दा कम) ‘बी प्लस’– ३.२ (धेरै राम्रो)
६० र सोभन्दा माथि (७० भन्दा कम) ‘बी’– २.८ (राम्रो)
५० र सोभन्दा माथि (६० भन्दा कम ‘सी प्लस’– २.४ (सन्तोषजनक)
४० र सोभन्दा माथि (५० भन्दा कम) ‘सी’– २.० (स्वीकार्य)
३० र सोभन्दा माथि (४० भन्दा कम) ‘डी प्लस’– १.६ (आंशिक स्वीकार्य)
२० र सोभन्दा माथि (३० भन्दा कम) ‘डी’– १.२ (अपर्याप्त)
२० भन्दा कम ‘इ’– ०.८  (धेरै अपर्याप्त)

(स्रोत: पाठ्यक्रम विकास केन्द्र)

यस प्रणालीमा ‘प्रत्येक विषयको उत्तर पुस्तिकाको परीक्षण र सम्परीक्षण अङ्कमा गरिनेछ र परीक्षा नियन्त्रण कार्यालयले सो अङ्क (सैद्धान्तिक र प्रयोगात्मक भएमा सोको कूल अङ्क) लाई तोकिएको अक्षर ग्रेड प्रदान गर्नेछ’, कार्यविधिमा भनिएको छ ।

‘डी’ प्लस र ‘डी’ भन्दा तल्लो ग्रेड प्राप्त गरेका विद्यार्थीले कुनै दुई विषय माथिल्लो ग्रेड प्राप्तिका लागि पुनः मूल्याङ्कन गराउन चाहेमा माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा समितिको निर्णय बमोजिम हुने ग्रेडवृद्धि परीक्षामा सामेल हुन पाउनेछन् । यसअघि यसलाई विगतमा पूरक (मौका) परीक्षा भनिन्थ्यो तर मौका परीक्षामा दुई विषयमा अनुत्तीर्ण भएकाले मात्र भाग लिने गरेकोमा यस प्रणालीमा जुनसुकै विषयमा प्राप्ताङ्क बढाउन पाइनेछ ।

कतिपय शिक्षालय र विषय हेरेर माथिल्लो कक्षामा भर्नाका लागि अलग–अलग मापदण्ड पनि बनाइएकाले ‘डी’ ग्रेड पाउने सबैले सबै विषयमा पढ्न भने नपाउने परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक गेहनाथ गौतमले बताए ।

यो पनि पढ्नुहोस्–

यस्तो आयो एसईईको रिजल्ट : साउन १९ देखि पूरक परीक्षा…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर