नेपालमा झन्डै २ हजार ३ सय प्रकारका धानका स्थानीय जात रहेको पाइएको छ । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि अनुवंशिक स्रोत केन्द्रले गरेको सङ्कलनमा स्थानीय जातका धानका बीऊमा विविधता पाइएको हो ।
केन्द्रका वैज्ञानिक कृष्णहरि घिमिरेले स्थानीय जातका बीऊ हराउन नदिन धानको बीऊ संकलन गर्दै आइएको बताए । उनले भने– ‘उन्नत र हाइब्रिडको प्रयोग बढ्दै गएकाले स्थानीय जातका धान हराउन नदिन हामीले बीऊ संकलन गरेका हौं ।’
जैविक विविधताको संरक्षणका लागि केन्द्रले ७ वर्षदेखि बीऊ संकलन र संरक्षण गर्दै आएको छ । संकलन भएकामध्ये सबैभन्दा बढी नेपालका प्रमुख बालीका धान छन् । धानका स्थानीय जातमा भएका विशेष गुण ल्याएर उन्नत जात विकास गर्नका लागि बीऊ संरक्षण गरिएको जाकारी दिँदै वैज्ञानिक घिमिरेले भने– ‘स्थानीय जातमा भएका कतिपय विशेष गुणलाई अर्को जातसँग क्रस गरेर पनि नयाँ जात विकास गर्न सकिन्छ ।’
‘धानका यी बीऊमध्ये कतिपय केन्द्रमा कार्यरत कर्मचारीले विभिन्न स्थानबाट सङ्कलन गरेर ल्याएका हुन् भने कतिपय स्थानमा रहेका बीऊ संकलन केन्द्रबाट पनि नयाँ जात भेटिएपछि हामी ल्याउँछौं । कतिपय जागरुक किसान आफैंले बीऊ जोगाइरहन सकिँदैन भन्ने चिन्ताले संरक्षणका लागि केन्द्रमा बीऊ ल्याउने गरेका छन्’– उनले भने ।
नेपालमा झन्डै ३० किसिमका धानका उन्नत बीऊ विकास भएको छ । उन्नत जात थोरै किसिमका भए पनि यसले ठूलो क्षेत्रफल ओगटेको छ । कम उत्पादन दिने भए पनि स्थानीय जातमा भएका विशेष गुणका कारण कतिपय किसानले यी जात लगाउन छाडेका छैनन् ।
कतिपय जातका बीऊ भने किसानले रोप्न छाड्दै जाँदा लोप हुने अवस्थामा पुगेका छन् । केन्द्रले बीऊ संरक्षण गर्दै आएको छ र आवश्यक पर्दा किसानलाई वितरण पनि गर्दै आएको छ । वैज्ञानिक घिमिरेले भने– ‘किसानले चाहँदा यहाँ संकलन भएका बीऊ हामीले किसानलाई थोरै परिमाणमा दिने पनि गरेका छौं ।’
धानका बीऊमा धेरै खालको विविधता छ । नेपालमा एउटै जिल्लाभित्र पनि फरक खालको हावापानी भएकाले ती स्थानमा फरक–फरक जातका धान पाइन्छन् । एउटै व्यक्तिको खेतमा लाग्ने धानमा समेत विविधता पाइने उनले बताए । खेतको माथिल्लो गरामा भन्दा तल्लो गरामा फरक हावापानी हुन सक्छ । माथिल्लो गराबाट पानी तल्लो गरामा पुग्दा बीचमा पानी तात्ने हुँदा पनि धान फरक–फरक खालको फलेको पाइएको छ ।
उन्नत र हाइब्रिड जातका धानमा नपाइने गुण स्थानीय जातमा पाइने र यसको भात खाँदा छिटो भोक नलाग्ने अनि कपिय त बास्नादार समेत हुने गरेका छन् । कतिपय चामल विशेष प्रकारको परिकार पकाउनका लागि प्रयोग हुँदै आएकाले पनि किसान आफैंले यी बीऊलाई निरन्तरता दिइरहेका छन् ।
धानका स्थानीय जातमा रहेका विषेश गुणका कारण तिनलाई संरक्षण गर्नुपर्नेमा जोड दिँदै नार्कअन्तर्गतकै बालीविज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुलीले भने– ‘भविष्यमा उन्नत जातका बीऊमा रोगको प्रकोप आए स्थानीय जातका धान लगाउन सकिन्छ ।’ बढी उत्पादन लिनका लागि किसान उन्नत र हाइब्रिडतर्फ बढी अकर्षित भइरहेका छन् ।
केन्द्रले १ सय ३० जातका ११ हजारभन्दा बढी स्थानीय जातका धानको बीऊ संकलन गरेको छ । कृषि वनस्पति महाशाखाले झन्डै ५० वर्षदेखि संकलन गरेको बीऊ केन्द्रले ७ वर्ष पहिले नै संरक्षण गरेर राखेको हो ।
अधिकांश जातका बीऊ चिसो (माइनस २० डिग्रीसम्म) मा राखेर लामो समयसम्मका लागि सुरक्षित गरिन्छ । लामो समयसम्म रहने बीऊ धेरै ठन्डामा र छोटो आयु हुने बीऊ त्योभन्दा कम तापक्रममा राखेर सुरक्षित गरिन्छ । समय–समयमा खेत–बारीमा बीऊ रोपेर केन्द्रले ‘उमारशक्ति’ समेत परीक्षण गर्दै आएको छ ।