ए समय !
तँ सबैका लागि बराबर छु भन्छस्
सबैलाई एउटै गतिमा घिसार्छु भन्छस्
आफ्नो बलप्रति ठूलो गर्व छ तँलाईं
अर्काको कल्कलाउँदो जीवनमा बुढ्याइँ
थप्दा बडो मज्जा आउँछ तँलाई
सबैलाई मृत्यको मुखमा पुर्याउन हतार छ तँलाई ।
हैन, ए समय !
कुनै बेलाका झिंगा चिप्लने गाला
हेर्दाहेर्दै हाँस्दा झिंगा च्यापिने गरी चाउरी पर्दा
तँलाई अलिकति पनि अप्ठ्यारो लागेन ?
अलिकति पनि माया–करुणा जागेन ?
समय !
तँ किन मौन छस् ?
तँ पनि पक्का घुस र कमिसनको दलदलमा फसिछस्
तँ शक्तिशाली भएर पनि इमानदार हुन सकिनस्
सरकारी ठेक्का रकमको तीस प्रतिशतको मात्र काम गरेर
सत्तरी प्रतिशत कुम्ल्याउने ठेकेदारको,
जनतालाई आकाश खसाइदिने आश्वासन बाँड्दै
पदमा पुगेका बेला
अकूत गैरकानुनी सम्पत्ति कमाउने नेताको,
राजनीतिको आडमा डनगिरी गरेर
तस्करी गरेर,
धम्क्याएर,
कर छलेर,
लुटेर,
कालो धन थुपार्नेहरुको
देशको सूचना बेचेर आफ्नो देशले दिने तलबमन्दा बढी तलब
अन्तैबाट खाने कर्मचारीको,
न्याय बेचेर विलासिताको बहार ल्याउने न्यायमूर्तिको,
हत्यारा, बलात्कारी, दुर्व्यसनी, सूदखोर लुकाएर
साली र श्रीमतीको ब्याङ्क खाता भर्ने प्रहरी हाकिमको,
सरकारी अस्पतालमा दरबन्दी राखेर
आफ्नो सम्पूर्ण समय निजी क्लिनिकमा बिताउने डाक्टरको,
आफ्नो बोर्डिङमा व्यस्त भएर सरकारी स्कुलमा–क्याम्पसमा
हाजिर मात्र गर्न भ्याउने शिक्षक–प्राध्यापकको,
कति भनौं म ?
हेर् समय !
यिनीहरुको निस्कनै नसक्ने दलदलमा फसिस् तँ ।
नत्र
यिनीहरुको आयु
ठूलाबडाको भान्सालाई चाहिने
मिष्टान्न उत्पादन गर्ने किसानको,
बलिन्द्र धारा पसिना बगाएर पनि
एक पेट भर्न नपाउने मजदुरको,
इमानदार राजनीतिज्ञको,
निष्कलङ्क र देशभक्त कर्मचारीको
जति नै मात्र कसरी भयो ?
निर्लज्ज समय !
तँ अझै समानताको कुरा गर्छस्
तेरो समानता धिक्कार होस् !
तेरो समानता धिक्कार होस् !!