कोही खान नपाएर बिरामी परेका छन्,
कोही धेर खाएर बिरामी परेका छन्,
खान नपाएर, धेर खाएर जति बिरामी परेका छन्–
त्यसको १० गुणा मान्छे खानै नजानेर बिरामी परेका छन् ।
(फोनको घन्टी)
– ल यही बेलामा फोन आयो; नउठाम् कि ! उठाउनै परो नि, अस्पतालमा हुनुहुन्छ भिनाजु ।
हजुर भिनाजु, म अहिले एउटा सुटिङमा छु । अस्पताल आउन भ्याइनँ हेर्नू न । अनि डाक्टरले चिँ, के भनाे हजुरलाई ?
भिनाजु
भनो नि, कता भन्दैन्थो । ए तपाईंलाई ग्याटिस् भाको रछ । चिल्लो–पिरो, अमिलो नखानू, अस्पताल नआउनू भनो । अरु के भन्थो तेरो साँढेले ।
– चिल्लो–पिरो, अमिलो नखानू न त त्यसो भए ।
भिनाजु
मैले मात्रै नखाएर हुँदैन्थो, त्यही मलाई जाँच गर्ने डाक्टर क्यान्टिनमा बसेर अघाउँजी चाउमिन र चटपटे हसुरेर माथि गको हो । सारेउले निलेझीँ सलक–सलक डल्ले खोर्सानी निलिराको थ्यो । म छक्क परिराछु, त्यो पनि त बिरामी हुँदो हो त्यसलाई कसले उपचार गर्दो हो ?
– उपचार भनेको त्यस्तै हो भिनाजु । अनि गाउँ फर्किनुहुन्छ कि यतै बस्नुहुन्छ ?
भिनाजु
ए गाउँमा छन्जेली मोज । बिहान–बेलुकी एकुन् गिलास् दूध खाइन्थो । चपक्क दूध खाएपछि झपक्क निद्रा लाग्थो । यस्ता ग्याटिस्–स्याटिस सुनेको पनि हैन । अब अहिले आएर अप्ठेराँ परियो । धामीले गर्दा नि भएन, डाग्डरले गर्दा नि भएन । दुइटैले गरे, कसैले गर्दा नि भएन ।
– दबाई लेख्देको होला नि, डाक्टरले हजुरलाई ?
भिनाजु
लेख्दिरछ नि, कता लेख्तैन्थो । लेख्नै ता बसेको । खानापछि भनेर लेखिरछ, यो के भनेको नानी ।
– हजुर, त्यो खानापछि नै भनेको हो ।
भिनाजु
खानापछि त खानापछि, खानाचाहिँ पछि कि दबाई छि त ? खाना खाएर दबाई खाने कि दबाई खाएर खाना खाने ? यही नबुझेर मैले फोन गरेको ।
– यसो गर्नुस् न– एकचोटि दबाई खाएर खाना खानुस्, अर्कोचोटि खाना खाएर दबाई खानुस्, है ।
भिनाजु
ल हुन्छ, त्यसै गर्नुपर्ला ।
– दुख्ने–पोल्नेचाहिँ कत्तिको छ भिनाजुलाई अहिले ?
भिनाजु
दुख्छ नि, कता दुख्तैन्थो । दुखिरहन्छ । तर, कता दुखेको, मेसो पाउँदिन । बसेछि उठ्न सकिँदैन, उठे बस्न सकिँदैन । अब शरीरमा बल–तागत छउञ्जेल खेपेकै हो । दोडा भैंसी पालेकै हो । केटाटी स्कुल जाने, म हिँड्दो मान्छे । एउडीले कता गर्नु, कता नगर्नुथ्यो । भ्याइँदैन्थो । पँखेटा लागेपछि उडेर जाँदारान् । अब एक्लो भैयो । कुरा सुन्दिने पनि कोही छैन भने कसलाई भन्नु, नभने कसरी नभन्नु ? तेरी दिदी थला परिगई, म जखम भैगएँ, तँ आउन छोडिगइस् ।
– सुटिङ सकिएपछि आउँछु भिनाजु । (फोन काट्छ)
फुटबलमा मेस्सी र अनसनमा केसी कहिलेकहीँ सीमाभन्दा बेसी भएर आइदिन्छन् । मेरा भिनाजु पनि त्यस्तै हुनुहुन्छ, छोड्दिऊँ यो कुरा ।
– आधुनिक नेपालोप्याथीका आविष्कारक अर्याल बाजेको चिन्तनलाई निरन्तरता दिन खोज्ने हो भने, नेपाली समाजमा फेरि धेरै रोगहरु थपिइसकेका छन् । खोज्नु मात्रै पर्छ, टोलटोलमा अहिले महारोगीहरु भेटिन्छन् ।
– नेपालोप्याथीले भन्छ– ‘भिँडे खुर्सानीमा भिटामिन ए, भ्यान्टामा भिटामिन भीदेखि जेडसम्म, टिनको भाँडामा परेजति सबै प्रोटिन भैहाल्छ्न् ।’ तर, आजभोलिको मान्छे पित्तल देखाउँछ र सुन बचाइदिन्छ । त्यस्ता मुला टिन त खाएर पनि पचाइदिन्छ ।
– अब यो सुन्नुहोस् नयाँ समयमा नयाँ ढङ्गले पत्ता लगाइएका केही नयाँ रोग, रोगीका लक्षण र उपचार पद्धतिका बारेमा न्यू रोगोलोजिस्ट डाक्टर हुकुम्देको हुकुम् वाणी ।
हुकुम दे
कतिपय बिरामीहरु, धामीले शरण परमेश्वरी, शरण परमेश्वरी, शरण परमेश्वरी नभनेसम्म निको हुँदैनन् । धेरै बिरामीहरु डाक्टरको छायाँ परेपछि मात्रै सद्दे हुन्छन् । तर, यहाँ आज बिरामीको हाेइन, रोगीको कुरा गरिँदैछ । सबैले ध्यान दिएर सुन्नू, डाक्टरको अपमान कसैले नगर्नू ।
१. छादुरा
सुन्दाखेरि दादुराजस्तै सुनिए पनि दादुरा र छादुरामा कुनै पनि लक्षण मिल्न आउँदैन । यो रोग लागेको सुरुमा थाहै हुँदैन । बिस्तारै रोगीको जिब्रो चिलाउँदै जान्छ । सित्तैंमा पाएपछि छाद्नेगरी हसुर्ने बानीले रोगीलाइ ग्रसित बनाउँदै लान्छ । जसले जबर्जस्ति खुवाउँछ, त्यसैलाई कुटेर हिँड्न सके रोगी रोगबाट मुक्त हुनेछ । नत्र उपचारको अर्को कुनै विकल्प छैन ।
२. छाडामान्ता
छाडामान्ता, झाडाबान्ता जस्तो कुनै औषधिले तुरुन्तै निको भैहाल्ने रोग होइन । छाडा परम्परालाई मान्ने, छाडा संस्कृतिलाइ मान्यता दिने, छाडा कुरा बोल्ने र व्यवहारमा छाडा भएर उत्रने भएकाले यो रोगलाई छाडामान्ता भनिएको हो । छाडामान्ताका रोगीहरु अर्कालाई छाडा नबोल् भन्छन् र आफू पाँचचोटि छाडा बोल्छन् । यो रोग बाउआमाबाट छोराछोरीमा र छोराछोरीबाट तिनका छोराछोरीमा सर्दै जाने रोग हो । छाडाको उपचार सम्भव छैन, छाडालाई डाँडा कटाउनुपर्छ भन्ने आवाज उठ्दै गएपछि आजभोलि धेरैजसो छाडामान्ताका रोगीहरु पब्जी र टिकटकमा गाँठो पर्ने गरेको पाइएको छ ।
३. खुबी रोग
खुबी रोग, दुबी रोगजस्तो छाला खुइलिने रोग होइन । यो रोग आफूले आफैंलाई खुइलाउने रोग हो । कुनै पनि विषयमा केही खुबी नहुनु, सबै कुरामा आफ्नो खुबी छ भन्ने भ्रम पालेर बाँच्नु, अर्काको खुबी देखेर मरिचजस्तो चाउरिँदै जानु यस रोगीका प्रमुख लक्षणहरु हुन् । खुबीवालाले खुबै मेहनत गरेको देख्दा रोगीको रोग झन् छिप्पिने खतरा भएकाले यस्ता रोगीहरु खुबीवालाको सङ्गतबाट टाढै रहँदा राम्रो हुन्छ ।
रोगी १ः डाक्टरसा’ब मेरा जिन्दगीका ठूलठूला सपना पूरा भएनन् । एकैचोटि करोडौं कमाउने लक्ष्य पूरा भएन । एकातिर फोक्सो चिलाउँछ, अर्काेतिर मनमा कहिल्यै शान्ति छैन । मलाई केले छोएको छ ?
४. टुसा
मुसाले टुसालाई ताक्ने भएकाले मुसा र टुसामा दाजुभाइको सम्बन्ध हुन सक्ने अनुमान गरिएको छ । तर पनि मुसा रोग लाग्नेसँग टुसा रोग लाग्नेको लक्षण मिल्दैन । टुसाका रोगीहरु यो गर्छु र त्यो गर्छु भन्ने, छातीभित्र सपनाको टुसा पालेर बस्छन् । स्यालको सिङ, एकमुखे रुद्राक्ष, गौलचन, पुरानो रेडियोभित्रको लिक्विड, गिद्दको नङ्ग्रा र सर्पको खुट्टा खोज्ने कार्यमा नै यिनिहरुको दिनचर्या ब्यतित भैरहेको हुन्छ । करोडौंको गफ दिएर एक कप चिया उधारोमा खाने र फेरि भोलिपल्ट अर्को सपनाको बीउ उमार्ने कुरामा रोगीको लत् बसिसकेको हुन्छ । नलाग्नु रोग लागिसकेपछि एक न एक दिन उपचारका लागि हनुमानढोकाको मामाघरमा पुग्नु अनिवार्य छ ।
५. फोक्सो चिलाउने
खासगरी चुरोटको तलतलले गर्दा लाग्ने रोगलाई फोक्सो चिलाउने रोग भनिन्छ । आन्तरिक रुपमा चिलाएको फोक्सोलाई धुप बालेर कन्याउन त सकिन्छ तर छोड्छु नभनीकन छोड्न सके मात्र रोगबाट मुक्ति मिल्ने छ । यो रोगले गाँजेपछि अर्काको कुरा काट्न र आफू अबदेखि चुरोट नखाने प्रतिबद्धता दोहोर्याउन मात्रै पनि १२ किलोमिटर टाढाबाट मिल्ने साथीलाई खोज्दै खोज्दै रोगी रन्थनिँदै भेट्न आइपुग्छ ।
६. बर्दिलुगा
यो रोग सर्दिरुघा जस्तो सरुवा रोग नभएर बर्दिवालाहरुमा मात्र लाग्न सक्ने रोग हो । अपवादमा यो रोगको सङ्क्रमण सरुवा र बढुवा भइरहनुपर्ने चिन्तनले ग्रस्त केही कर्मचारीहरुमा भएको पाइन्छ । खासगरी बर्दिलुगाले छोएपछि शान्ति सेनामा जान पाउनैपर्छ । एक पटक गएको छ भने दोस्रोपटक जान पाउनुपर्छ । पटकपटक गएको भए पनि उसको जीवननमा शान्ति आएको हुँदैन । कार्यकाल सकिएपछि फौज छोडिन्छ तर उसले बाँकी जीवनमा जसलाई जतिचोटि भेटे पनि पराकम्पनको धक्का दिइरहने बानी बोकेर बाँच्दछ ।
रोगी २ः डाक्टरसा’ब मलाई जुनसुकै बेला दुर्घटनामा पर्छु कि जस्तो डर लागिरहन्छ । कहिलेकहीँ त टुप्पीदेखि पैलातासम्म झम्झमाउँछ । हिलोदेखि डर लाग्छ, ओभानो ठाउँमा मात्रै बस्न मन लाग्छ । मलाई केले गाँजेको छ ?
७. हृदयभङ्ग
हृदयभङ्गलाई कसै–कसैले प्रेमरोग पनि भन्दछ्न् । रोग छिप्पिँदै गएपछि एकले अर्काको हृदयमा खेलबाड गरेको आरोपमा, एकले अर्कालाई सिध्याउने, नसके आफैं सिद्धिनेसम्म हुन सक्ने भएकाले यो रोगलाई हृदयभङ्ग भनिएको हो । उमेर नपुग्दै प्रेममा परिहाल्नु, अरुको प्रेम देखेर जलिहाल्नु, प्रेममा पछुताउनु, तुरुन्तै अर्को प्रेम सुरु गर्नु, हृदयभङ्गको प्रारम्भिक लक्षण हो । टेक्ने न समाउनेको परिस्थितिलाई बुझ्ने प्रयास नगरीकन, कात्तिके कुकुर झैँ लठारिने, एकले अर्कालाई नचिनुनुन्जेली चाटाचाट र चिनेपछि काटाकाट गर्नेजस्ता लक्षणहरु यस राेगका प्रमुख लक्षणभित्र पर्दछन् । असामयिक दुर्घटना हुनबाट बच्न सके समय बित्दै जाँदा आपसेआफ रोगीको उपचार सम्भव छ ।
८. देह रोग
क्षयरोगजस्तो खकार जाँचेर देहरोग पत्ता लाग्दैन । शरीरको कुनचाहिँ भागमा दुखेको र कहिलेदेखि किन दुखेको भन्ने कुरा रोगीलाई थाहा हुँदैन । ऐया, मरें, दुख्यो, पोल्यो र हँहँ गर्न छोड्दैन । के भएको भनेर मन पर्ने मान्छेले सोधे मात्र जवाफ पाइन्छ । श्रीमती, छोरा र बुहारीले आफूले देखाएको बाटो नहिँड्नु नै यता सोला हान्नु र उता घोच्नु पोल्नुको कारण बनेर उभिन्छ । टुप्पीदेखि पैतालासम्म झम्झमाउने यो रोगको उत्पत्ति र उपचारका बारेमा सरकारले खोजी गर्न नभ्याएर मात्रै हो, तुरुन्तै पत्ता लगाउन चाहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणापछि पनि यस्ता प्रतिनिधि रोगीहरु हरेक घरमा कम्तिमा एकजना व्यहोर्न हामी बाध्य छौं ।
९) ओभाने
रोगको नाम सुन्दा रोग नयाँ जस्तो लागेपनि रोगिको ईतिहास हेर्दा रोग पुरानै हो । आफुले जानिबुझिकन अपराधै गरेको भएपनि दोषजति अरुको थाप्लामा हालेर आफू पानिमाथिको ओभानो बन्न खोज्नु ओभानेको प्रमुख लक्षण हो । पहिले पहिले राजनितीका पक्ष प्रतिपक्षमा मात्र लाग्ने यो रोग अहिले जथाभावी फैलिएको छ । कलिला बिद्यार्थी बर्गमा यो रोगले आक्रमण गर्नु सामान्य जस्तै बनिसकेको छ । किनभने यो रोग लागिसकेपछि मान्छे पायल्स भएको भएपनि तुरुन्त आयल्स गरेर बिदेसिन्छ । उतै बसेर यताकालाइ तथानाम गालिगलौज र सत्तोसराप गर्ने । आफ्नो अलिकति पनि दोष नदेख्ने । फर्केर आउदा झन् रोगी बनेर आउनेजस्ता हर्कत देखाउँछ । ओभानेले सिकिस्त बनाएपछि आफ्नै कारणले सेफ्टि ट्याङ्कीमा लटपटिन पुगे पनि रोगिले दोष अर्कालाइ दिन्छ । ओभानेले देशव्यापी जरो गाडिसकेको छ । त्यसैले रोग लागिसकेर उपचार गर्नुभन्दा रोगै लाग्न नदिन, आफुमात्र ओभानु भएको कुरालाइ बिर्सिनुपर्छ । बरु बेलैदेखि ओभानु ठाउँमा बस्दै नबस्ने, ओभानु लुगा लाउँदै नलाउने र ओभानु खानेकुरा खादै नखाने गर्न सके ओभानेबाट बच्न सकिन्छ ।
रोगी ३) झननन्न रिस उठ्छ । सपनामै कुम्लो बोकेर हिडियछ हिजो राति । आफुलाई थाहै हुदैन । आज बिहानै गल्लिको कुकुरलाई सुरुमा नमस्ते गरेर, हरियो घाँस कोच्याइएछ । सुकिलो लुगा लाएको मान्छे देख्यो कि च्याप्पै समाउन मन लाग्छ मलाई के ले लपेटेको होला ?
१०) कुम्लो
कुम्लो र सुम्लो सुन्दा उस्तै सुनिएपनि यो रोग उम्लोमा लाग्ने रोग होइन । सुन्निएर मासुको लोलो उठिहाल्दैन तर कुटिनुपर्ने बजारिनु पर्ने र पिलिनुपर्ने हुन्छ । प्रतिहिंसाको भावनाले गाउँ गाउँबाट कुम्लो बोकेर बसाइँ सर्दिने साहसि पुरुषहरु, बदलाको उदेश्यले घर घरबाट पोइल गइदिने ससक्त उद्दमशिल महिलाहरु र सय रुपियाँ सस्तो भेटियो भन्दैमा कुम्लो बोकेर डेरा सर्दिने काठमाडौंका बेरोजगार नागरिकहरु नै यो रोगको सिकार बनेका छन् । गरिबी, बेरोजगारी, महङ्गि, अभाव र अस्थिरता जम्मा यी ५ इलिमेन्ट्सको एकैदिन अन्त्य हुनसके त्यहि दिनदेखि कुम्लो उन्मुलन हुनेछ ।
११) भनुस्टङ्कार
भनसुनबाट सबै लक्ष्य पूरा गर्ने उदेश्यले यो रोगको बिजारोपण हुन्छ । गर्दन र पिठिउँतिर घाउ खटिराले विषाक्त नपारेपनि धनुषटङ्कारबाट यो रोग थोर बहुत प्रभावित भएको देखिन्छ । धनुषजस्तै झुकेर अनुनय बिनय गर्ने कुरामा रोगीले आफुलाइ अग्रसर बनाउदै लान्छ । रोगिमा प्रक्रिया र पद्धतिलाई मान्ने र पर्खिने क्षमता घटिसकेको हुन्छ । उच्च बर्गका सीपबिहिन बेरोजगारहरुलाई यो रोगले सिकार बनाउँछ । जुनसुकै क्षेत्रको जे सुकै काम गर्नपनि रोगिले आफुलाइ तयार बनाएको हुन्छ । जहाँ सम्भावना देखियो त्यहा लगानि गर्न पछि पर्दैन । कम्तिमा पनि गाउँको अर्गानिक मह, पालुङको जरिबुटि, कडकनाथ भाले, बट्टाईको अन्डा र घाँस खाएको खसिमा रोगि बिज्ञ बनिसकेको हुन्छ । रोगिले सुरुमा जागिरका लागि भनसुन र जागिर पाएपछि तलब बढाउनका लागि भनसुन चाहन्छ । चाहेको जस्तो नहुन्जेल धनुषले झैं ताकिरहने हुनाले रोगिको उपचारमा भन्दा रोगिबाट जोगिनमा ध्यान दिन सके सुरक्षित भइनेछ ।
रोगी ४) मेरो समस्या चाहिँ के भने डाक्टर साब । छिनमै रुन्छु छिनमै रमाउँछु । आफ्नो नाम अरुले लिइरहोस् जस्तो लाग्छ । मोबाइल साथमा छैनभने सास फेर्नै सक्दिन । मलाई के ले बेरेको छ ?
१२) दलेलिया
फोटो खिच्ने ठाउँदेखी पासपोर्ट बनाउने ठाउँसम्म, फारम बुझाउने ठाउँदेखी लाइसेन्स लिने ढोकासम्म बोकाजस्तो गन्हाएर बसिरहनु दलेलियाको प्रारम्भिक लक्षण हो । यो रोग एनोफिलिज नामको पोथि लामखुट्टेको टोकाइबाट लाग्ने मलेरिया जस्तो नभएर दलिएर बाच्नुपर्ने बाध्यात्मक जिन्दगीको परिणति हो । भात खाने होटेलदेखी सुत्ने लजसम्म अप्ठेरो परेको मान्छेलाई सघाइदिनु रोगिको सकारात्मक पक्ष हो । आफ्नै किराना पसलमा बसेर उस्तै परे बाटो बताइदिएको र कसैको फोन नम्बर दिएको पनि पैसा असुल्न सक्नु रोगिको सफल पक्ष हो । यो रोग लागेपछि रोगिको स्तरोन्नती हुदै जाने र समाजमा उनिहरुकै बर्चस्व रहने भएकाले उपचार गरिराख्नु पर्दैन । उडाउने गुडाउने, लडाउने सडाउने सबै कार्यमा दलेलियाले रोगिलाइ पोख्त बनाउँदै लान्छ । दलेलिया लागेको रोगीले अर्काको घर जग्गा किनबेचमा उपस्थिति अनिवार्य जनाउनुपर्ने भएकाले आफ्नो घरजग्गा चाँहि प्रायःजसो नहुनसक्छ तरपनि मुल्य घटाउने र बढाउने कुरामा रोगिका अगाडि नेप्सेले फेल खान्छ । सुन्दा नौलो लागेपनी प्रजातन्त्रको पुन:प्राप्ति पछि दलेलियाले बिगबिगी मच्चाएको तथ्य पहिलै पत्ता लागिसकेको छ ।
१३) पोसिबलाइटिस
यो रोग सेतो लामखुट्टेको टोकाइबाट सर्ने र सुगुरको खोरबाट फैलने इन्सेफ्लाइटिस जस्तो नभएपनी तत्काल मस्तिष्कमा असर पुर्याउने रोग हो । पोसिबलाइटिस गुटबन्दीबाट सर्ने र कानेखुसिबाट फैलने गर्छ । लुकि लुकि शिबजिको बुटि सेबन गर्ने लेखक, कलाकारहरुलाइ यसले लक्षित गर्छ । एकचोटिलाई चार्ज हुने उदेश्यबाट सुरु हुने भएकाले यसलाई चार्जलाइटिस् पनि भन्न सकिन्छ । यो रोगले छोएपछि मान्छे एउटै बसाइमा चारवटा चलचित्रको कथा तयार गर्न र हरेक कुरा पोसिबल देख्न थाल्दछ । जसलाई यो रोग लागेको छ, लक्षण भन्दा धेरै बिलक्षण देखा परेका छन् । रोगिहरु अङ्गुरको झुप्पोदेखी सगरमाथाको टुप्पोसम्म सबै हाम्रा बिक्रीका सामान हुन् भन्ने निष्कर्ष निकालेर “एभ्रिथिङ इज पोसिबल” भन्दै आफ्नो आफ्नो बाटो लाग्नु सामान्य बिलक्षण हो । रोगिले आत्मनियन्त्रण नगुमाएसम्म पोसिबलाइटिसले दोस्रो ब्यक्तिलाई असर गर्दैन ।
१४) नेमोलाइटिस
यो रोग ब्रोङकाइटिस जस्तो फोक्सोमा लाग्ने नभएर भाइरलबादी सोच भएको बोक्सोमा लाग्ने रोग हो । आफ्नो नाम आउँछ भने कसैले गालि गरेरै भएपनि नाम लियोस् भन्ने चाहना राख्नु, दिनको एघार वटा यु ट्युबबाट एकैचोटि भट्भटाउनु, बिबादित कुरामा बोलेर झन् बिवादमा तानिनु र अर्काको ध्यान र समय आफुतिर खिच्नु अलक्षिणि रोगिको रमिते लक्षण हो । यो रोग समाजका गुहे झिँगाबाटै फैलिने रोग हो । नेमोलाइटिसका भाइरसहरु रुप बदलेर आँखा अगाडि घुमिरहन्छन् । लेटेस्ट डिजिज नभएपनि नेमोलाइटिस हाम्रो समयको अति असरदार, नछोइ थला पार्ने सक्ने उपाएबिहिन रोग हो । त्यसैले स्वस्थ रहन चाहने हो भने रोगिको सङ्गतबाट चौबीसै घन्टा टाढा रहनुपर्छ ।
१५) बोक्रे
धोक्रेकिराको झुस् बिझेर निस्किने धोक्रेखटिरो भन्दा बोक्रे कटिलो छ । चाहिनेभन्दा बढि प्रशंसा र चाहिनेभन्दा बढि आलोचनाले ब्यक्तित्वलाई सिध्याउन सकिन्छ भन्ने बोक्रेरोगिले बुझ्दैन तरपनि एउटै ब्यक्तिलाइ २ घन्टा अगाडि भगवान् र २ घन्टा पछाडि राक्षेस बनाउनमा बोक्रेकै सिपले काम गरेको हुन्छ । बोक्रेले बढि महत्त्व दिएर बोकेको ब्यक्ति भाइरल बनिहाल्ने र बजारिनेको टुङ्गो हुदैन किनभने एउटा बोक्रे रोगिले उकेरा दिदै गर्दा अर्को बोक्रे रोगी खेदो खनेर जरो छिनाउनमा ब्यस्त हुन्छ ।
यो रोग अरुको बोक्रा उक्काउने मनसायबाट सुरु हुन्छ । रोगिले अर्काको बोक्रा उक्काउदा उक्काउदै आफ्नै बोक्रा उक्केको थाहा पाउदैन । सामाजिक सञ्जालका उपभोक्ताहरुमा बोक्रे अधिकतम् छाएको छ । त्यहि भएर दुनियाँले दुख पाएको छ । बेलैमा सचेत हुनुस् । पछुताएर नरुनुस् ।
हुकुम दे
मेरो बलबुताले भ्याएसम्म मैले अनुसन्धान गरेकै छु । सधैंभरि रोगिकै सङ्गत गरेर आफैंलाई रोगी बनाउने फुर्सद म सग छैन । आफुलाइ स्वस्थ बनाउनुपर्छ । स्वस्थ नागरिकले मात्रै समाजको सेवा गर्न सक्छ । सधैंभरि निशुल्क सेवा प्रवाह गर्न म सक्दिनँ । भिटामिन एम मनिको अभावमा म छट्पटाइरहेको छु । आधुनिक जमानाको क्यु आर पेस गरिएको छ । सबैले कुरा बुझ्नु । रास्ट्रिय महारोगका विषयमा यो भन्दा बढि आज मलाई केही भन्नू छैन । सबैका तर्फबाट मलाई धन्यवादै छ