ऊ उजाड भएको होइन
पहेंला पातहरू झरेर गएका हुन्
कुहिएका बोक्राहरू गलेर गएका हुन्
काठतस्करहरूले काटेर उसका हाँगाबिङ्गा
टिम्बा बनाएर बेचेका हुन्
त्यही टिम्बा बेचेको पैसाले सेतो कात्रो किनेका हुन्
त्यही कात्रोमा बेरेर
सिद्धान्त, दर्शन र विचारलाई
‘मरौँ मरौँ लाग्ने आर्यघाट’ मा जलाएका हुन्
अनि लिएर त्यही खरानी
तिनै ‘घाटे वैद्यहरू’ ले नै कोट कोटमा चढाएका हुन् ।
————————–
फुल्नुसम्म
फूलहरू नफुलेका होइनन्
लाग्नुसम्म
कोपिलाहरू नलागेका होइनन्
फल्नुसम्म
फलहरू लटरम्मै नफलेका होइनन्
हो
सुन्तलाचोर र काँक्राचोरहरू नै पसेर
खानुसम्म फल खाएका हुन्
ढ्याऊ ढ्याऊ डकार्दै अघाएका हुन्
बाँकी रहेका जति सबै फल
हल्लाई हल्लाई झारेका हुन्
मैना, जुरेली र ढुकुरहरू
नबसेका होइनन् ओत लागेर
काला सर्प र मलसाप्राहरू चढेर रूखमै,
दिनदहाडै मारेका हुन् ।
तिनका बचेराहरूलाई अलपत्र पारेका हुन् ।
काँतर गिद्धहरूले मात्रै
गुँड अन्तै सारेका हुन्
————————–
असिनाको चोटले दर्फराएका हुन् शरीरहरू
हावाहुरीको झोक्काले भाँचिएका हुन् डाँठहरू
चरम खडेरीले सुख्खा भएका हुन् काण्डहरू
मल नपाएर खुम्चिएका हुन जराहरू
तर ऊ रूकेको होइन
थाकेर उभिएको हो शीतलमा
कसैसित झुकेको होइन
————————–
तीन महिनाकै विरूवा
ढाल्छु भन्नेहरू
आफैँ ढलेर गए
उसैको आरिसले
आगोमा हाम्फालेका आत्मघाती पुतलीहरू
आफैँ डढेर सकिए
ऊ डढेन
कहिल्यै डढ्दैन
उहीबाट चुइएका चोपहरू
सिधै भुइँमा पोखिए
ऊ पोखिएन
कहिल्यै पोखिँदैन
०७२ को भूकम्पमा पनि
ऊ ढलेन
कहिल्यै ढल्दैन
बरू
अलिकति सिँचाइ पाउनासाथ
शिशिर सकिएर वसन्त आउनासाथ
ऊ उस्तै हराभरा हुनेछ
उचालिएर गगनचुम्बी छुनेछ
फेरि उस्तै फूलहरू फुल्नेछन्
फेरि त्यस्तै कोपिलाहरू लाग्नेछन्
फेरि मस्तै फलहरू फल्नेछन्
किनकि
ऊ त वृक्ष हो ।
जो अमेजन जस्तै
मिसीसिपी जत्रै
रक्तनदीहरूमा अडिएको छ
चिहानै चिहानहरूको ‘ग्रेटवाल’मा ठडिएको छ ।
२०७९/०२/०३
रूखकाे चित्रः सामाजिक सञ्जालबाट – सं. ।