‘आमा’ भनेर बन्नु
र आमा ‘बनेर’ बन्नुमा
धेरै फरक छ !
को हुन् मैले भनेकी आमा ?
बाटामा हिँड्ने हरेक वृद्धालाई ‘आमा’ भनिएला
सस्तो साइँनो दुई दिनको लगाइएला
अरु कसैकी आमालाई पनि ‘आमा’ गनिएला
भाषण–सम्बोधनमा यो शब्द बगाइएला !
को हुन् मेरी बनेकी आमा ?
मैले हार खाँदै दुई थोपा आँसु झार्दा
भित्रैबाट झक्झक्याउने ध्वनि हुन् आमा
अपेक्षाको बोझ नथमाई मेरो
शरीरको भार बोक्ने जन्मभूमि हो आमा
सही बाटो देखाएर मलाई
डोर्याउने हरेक व्यक्ति आमा हुन्
कमजोर हुँदा ढाडस दिने
हरेक शक्ति आमा हुन्
आफ्नो–पराई नछुट्याई संसारलाई
सुन्दर बनाउने सूत्र हुन् आमा
जनहितका लागि प्राण त्याग्ने
हरेक ती पुत्र हुन् आमा !
वास्तवमा,
‘आमा’ एक शब्द होइन
एक निःस्वार्थ भाव हो
जुन प्रशव–पीडाभन्दा पनि
हरेक प्राणीका लागि प्रशव–करुणाश्राव हो
जन्म दिएर आमा भनिए तापनि
‘आमा’ बन्न नसक्नुभन्दा
मेरो कोख बाँझो रहोस्
तर, कसैका लागि ‘आमा’ बन्न सकूँ म !