सल्यानको कपुरकोटबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार तुलसीपुर–सल्यान सडक खण्डको तुलसीपुर– ३, राम्रीमा दुर्घटना हुँदा १६ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।
प्रहरी सहायक निरीक्षक विष्णु श्रेष्ठका अनुसार मृतकको शव घटनास्थलमा सङ्कलन गरेर राखिएको छ र घाइतेहरुलाई उपचारका निम्ति राप्ती अञ्चल अस्पताल तुलसीपुर लगिएको छ । गम्भीर घाइते दुई जनालाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
घोराहीस्थित कृष्ण सेन ‘इच्छुक’ प्राविधिक शिक्षालयका शिक्षक र विद्यार्थी चढेको उक्त बस दुर्घटनामा परेको हो । बस झन्डै सात सय मिटर तल भीरमा खसेको जानकारी इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले दिए ।
शिक्षक र विद्यार्थी सल्यानको कपुरकोटस्थित मूलपानीमा रहेको वनस्पति उद्यानको अवलोकन भ्रमण गरेर तुलसीपुरतर्फ फर्किंदै थिए । घटनाको थप विवरण आउन बाँकी छ । प्रहरी र स्थानीयवासी उद्धारमा जुटेको राससले जनाएको छ ।