सरकारले जे गरे पनि त्यसलाई बङ्ग्याएर प्रस्तुत गर्ने र आलोचना सुरु गर्ने मौसम चलेको छ हिजोआज । नेपालकै इतिहासमा भारतबाट आउने तरकारीको विषादी जाँच्ने तयारी सरकारले गरिरहेको छ । छ महिनाभित्र विषादी चेकजाँचको सम्पूर्ण तयारी पूरा गरेर यो कामलाई व्यवस्थित गर्ने सरकारको तयारी देखिन्छ । तर, आकाशै खस्न लागेजस्तो गरी पार्टीभित्र र बाहिर होहल्ला मच्चाइँदैछ ।
जनविरोधी कित्ताबाट प्रहार हुँदा सरकारको डटेर प्रतिरक्षामा उत्रनु पर्नेमा पार्टीभित्र ‘चिलाएको ठाउँमा कन्याएको’ मज्जा लिइँदैछ । निःसन्देह, यो जनताको दुईतिहाई अभिमतमाथिको हाँसीमजाक हो । जनताको सार्वभौमिकता माथिको खिसीटिउरी हो ।
भन्नु परोइन, वर्तमान सरकारको जग र विगतका सरकारको जग बिलकुल फरक छ । केही अपवादलाई छाडेर विगतका अधिकांश सरकारहरुको जग अत्यन्त कमजोर थियो । नेपाली जनताले भोट दिएर बनेका भए पनि यो ‘आफूले बनाएको सरकार हो’ भन्नेमा अन्योल हुन्थ्यो । सरकार बनाउने कामको जिम्मा विभिन्न अन्तर्राष्ट्रिय शक्तिकेन्द्रलाई दिइयो । कसैले छिमेकीलाई दोष दिने, कसैले अरु कसैलाई । आफ्नो सरकार आफैं बनाउने हैसियत नभएका जनतामा देश बनाउने क्षमता कहाँ हुन्थ्यो र ?
सरकार बनेको तीन महिना नबित्दै सरकार ढाल्ने खेल सुरु हुने र नौ महिना नबित्दै अर्को सरकारको ताहुरमाहुर सुरु हुने बानी नै पर्यो । अस्थिर सरकारलाई ‘स्थायी सरकार’ मानिने कर्मचारीतन्त्रले केही महिना घुमाउने र बिदा गर्ने आम प्रचलन बन्यो । अर्कातिर, आम नेपालीमा ‘जनताका लागि सरकारले केही गर्दैन, यो ‘सतीले सरापेको देश हो’, नेताहरु सबै चोर र भ्रष्टाचारी हुन्, यो देशमा बसेर केही गर्न सकिँदैन’ जस्ता अत्यन्त नकारात्मक अवधारणा विकास भयो ।
त्यति मात्र होइन, राजनीति भनेको कमाउ धन्दा हो, कसैले राम्रो काम गर्यो भने त्यसको खुट्टा नतानी आफू माथि पुग्न सकिँदैन, भ्रष्टाचार नगरी अकूत पैसा कमाउन सकिँदैन र अकूत पैसा जम्मा नगरी राजनीति गर्न वा चुनाव जित्न सकिँदैन भन्ने घातक सोचाइले नेपाली समाजमा डेरा जमाएका छन् । त्यस्तै, देशभित्र श्रम गर्न नचाहने, एक–अर्कामा चरम अविश्वास, विकसित देश र दातृनिकायको मुख ताक्ने अवाञ्छित प्रवृत्ति पनि विकास भएका छन् ।
गत आम निर्वाचनको मुखमा नेपाली कम्युनिस्टहरुको एकताबद्ध बन्ने चेतनाले पाँचवर्षे स्थिर सरकारको चाहना पूरा गरिदिएपछि अहिने परिस्थितिमा आमूल परिवर्तन आएको छ । राज्यको पुनर्संरचना मात्र भएको छैन, कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा रहेका कयौं नीति र व्यवहारमा समेत आमूल परिवर्तन भएको छ । अब केवल ती परिवर्तनलाई बुझ्ने र आत्मसात् गर्ने बानीमा आमूल परिवर्तनको खाँचो छ ।
सरकारले राम्रो काम गरेको भए पार्टीभित्र र बाहिरबाट किन विरोध भइरहेको छ त ? यसको उत्तर सहज छ– यो देशमा राम्रो काम गर्नेहरुकै सबभन्दा बढी विरोध हुने गरेको छ । राम्रा कामको प्रभावले आफ्नो राजनीतिको रोटी सेक्ने रापताप हराउने डरले यहाँ प्रायोजित विरोध हुँदै आएका छन्, पछिसम्म हुने नै छन् ।
दुईतिहाई समर्थन प्राप्त सरकारलाई अप्ठ्यारोमा पार्न पार्टीभित्र हुँदै गरेका चलखेल, एकता प्रक्रियामा सिर्जित अन्योल, कतिपय अन्तर्राष्ट्रिय चासो हालसम्म अपरिवर्तित बानीका अभिव्यक्ति मात्र हुन् । जनताको असीम तागतबाट बनेको यो सरकारलाई बाँकी अवधि कसैले हल्लाउन नसक्ने अवस्थाबारे धेरै चर्चा गरिरहनु परोइन । यो त बेरोकटोक अगाडि बढ्ने नै छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रमले देशभर प्रभावकारी काम गरिरहेको छ, देशभित्रै लाखौं रोजगारी सिर्जना भएको छ, पेट्रोलियम पदार्थ भित्र्यउन पाइपलाइन अन्तिम चरणमा छ, भ्रष्टाचारमा कमी आएको छ, वार्षिक वृद्धिदरमा ऐतिहासिक रुपमा बढोत्तरी भएको छ, अन्तर्राष्ट्रिय सम्बन्ध सुमधुर भएको छ, राष्ट्रव्यापी साना–ठूला भौतिक पूर्वाधार विकास जारी छन्, राज्यबाट जनताले हिजोभन्दा बढी सेवा–सुविधा पाएका छन्, कहालीलाग्दो लोडसेडिङ सदाका लागि अन्त्य भएको छ, राष्ट्रिय अखण्डता मजबुत भएको छ– यी सबै देख्ने कि नदेख्ने ?
कि यो ‘सतीले सरापेको देश’ हुनाले यहाँ कुनै पनि राम्रा काम हुन सक्दैनन्, सबै नेता भ्रष्टाचारी, बदमास र राष्ट्रघाती हुन्, यहाँ कुनै पनि निर्णय स्वविवेकले हुँदैनन्, विदेशीको इशारामा हुन्छन् भन्नेजस्ता कमलपित्ते तर्क गरेर किनारामा बसिरहने ? आफू नांगिएर अरुले पातलो लुगा लाएकामा कुरी–कुरी गरिरहने ?
वर्षौंदेखि हामी नेपाली नकारात्मकताको शिकार भएका छौं । यसबाट बाहिर नआई नेपाल समृद्धिको नयाँ उचाईमा पुग्न सक्दैन । यसका लागि देश, सरकार, पार्टी, नेता र राजनीतिलाई बुझ्ने विगतको आम बानी फेरे पुग्छ ।